५० प्रतिशत महिला नभए पछि काँग्रेस उमेदवार विरुद्ध निवेदन

बागलुङ, १६ साउन
जिल्ला समन्वय समिति बागलुङको निर्वाचनमा नेपाली काँग्रेसले ५० प्रतिशत महिला उमेदवार समावेश नगरे पछि उमेदवार विरुद्ध निवेदन परेको छ ।
साउन २० गते हुने निर्वाचनको लागि नेपाली काँग्रेस बागलुङले सभापति र उपसभापति दुवै पदमा पुरुष उमेदवारको मनोनय पत्र दर्ता गराएको छ । काँग्रेसको तर्फबाट सभापतिमा लक्ष्मण आचार्य र उपसभापतिमा रामप्रसाद विकले उमेदवारी दिनुभएको छ ।
स्थानीय तह निर्वाचन ऐन– २०७३ को परिच्छेद ४ उपदफा (१) मा उमेदवार तथा मनोनयन पत्र सम्बन्धी दफा १७ मा जिल्ला समन्वय समितिको प्रमुख र उप–मुखको उमेदवार पेश गर्दा पचास प्रतिशत महिला उमेदवार रहनु पर्ने व्यवस्था रहेको छ ।
स्थानीय निर्वाचन ऐन– २०७३ को परिच्छेद ४ ले व्यवस्था गरे अनुसार नेपाली काग्रेसका उमेदवारको रित नपुगेको दावी गर्दै बामगठबन्धको तर्फबाट सभापतिका उमेदवार राजेन्द्र ढुङगाना र उपसभापतिका उमेदवार विष्णु भुषालले निवेदन दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्रोतले जनाएको छ । सोही दफामा कुनै दलले एकजना मात्र उम्मेदवारी दिएमा यो उपदफाको प्रावधान लागू हुने छैन भन्ने उल्लेख गरिएको छ ।
बाम–राप्रपा गठबन्धन निर्माण भए पनि फरक फरक पार्टीबाट उमेदवारी दर्ता भएकाले परिच्छेद ४ गठबन्धमा आकर्षित भएको छैन । सभापतिको उमेदवार ढुङगानाले राष्ट्रिय जनमोर्चा र उपसभापतिका उमेदवार विष्णु भुषालले नेकपा एमालेको तर्फबाट उमेदवारी दिनुभएको हो ।
निवेदन उपर मंगलबार निर्णय हुने मुख्य निर्वाचन अधिकृत हेमलाल बेलबासेले बताउनुभयो ।