बेनीमा अञ्चलकै सर्वाधिक राशिको बौद्ध कप फुटबल हुने

म्याग्दी, २ साउन,
म्याग्दीको सदरमुकाम बेनी बजारमा असोजमा तेस्रो बौद्ध कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । बेनी नगरपालिका वडा नम्बर–७ मंगलाघाटको बौद्ध युवा क्लबले असोज १ गते देखी ५ गतेसम्म बेनीको खुल्ला मञ्चको मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दियो । दोस्रो हुने टोलीले ७० हजार तथा सेमिफाइनल सम्म पुग्ने टोलीले १५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको अनुशासित टोलीले १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, स्ट्राइकर, मिडफिल्डर र रक्षक जनही ६ हजार रुपैयाँ पाउनेछन् ।
क्लबका अध्यक्ष विजय किसानले क्लब सामाजिकसँग खेलकुद विकासमा पनि सक्रिय रहेको बताउनुभयो । क्लबका सल्लाहकार सुवास कुमार श्रेष्ठले स्थानियस्तरमा हुने प्रयोगिताले खेलाडीको पहिचान र अवसरको वातावरण बनाउन सहयोग पुग्ने बताउनुभयो ।
क्लबका उपाध्यक्ष कृष्ण श्रेष्ठले प्रतियोगितामा झन्डै २६ लाख रुपैयाँ खर्च हुने बताउनुभयो । २०६४ सालमा जिरन रानाको अध्यक्षतामा स्थापना भएको क्लवले मंगलाघाट सहित आसपासका क्षेत्रमा स्थानीयबासी संग सहकार्य गरेर सामाजिक काम पनि गर्दै आएको छ ।