बागलुङ नगरपालिकाले थाल्यो सिटी हल निर्माणको तयारी

बागलुङ, ०२ साउन । बागलुङ बजारमा ठूला कार्यक्रमहरु गर्ने सास्ती अब हट्ने भएको छ ।
बागलुङ नगरपालिकाले प्रथम नगरसभाबाट नीति तथा कार्यक्रम मार्फत सम्बोधन सहित जग्गा व्यवस्थापनको कार्यलाई तिव्रता दिएको छ ।
नगर प्रमुख जनकराज पौडेलले यसैसाता आयोजित प्रथम नगरसभामा नीति तथा कार्यक्रममा बागलुङमा सिटीहल निर्माणको लागि जग्गा व्यवस्थापन गरी निर्माण कार्यलाई अगाडी बढाउने उल्लेख गर्नुभएको छ ।
घोषित नीति तथा कार्यक्रम अनुसार नै नगरपालिकाले बा.न.पा–३ चिप्लेटी बस पार्कमा सिटी हल निर्माणको लागि जग्गा व्यवस्थापन गर्न स्थानीय समूदायसँग छलफलको काम अगाडी बढाएको नगरपालिका नगर उपप्रमुख सुरेन्द्र खडकाले जानकारी दिनुभयो ।
जग्गा व्यवस्थापनको बारेमा विभिन्न चरणमा छलफल भएको चिप्लेटी बसपार्क व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर कार्कीले बताउनुभयो । सिटीहल निर्माणको लागि बसपार्कको जग्गा प्रयोग गर्ने प्रस्ताव आएको छ’ कार्कीले भन्नुभयो– सिटी हल निर्माण हुने ग्यारेन्टी भए जग्गा दिने विषयमा स्थानीय समूदाय सकारात्मक छ । ’
नगरपालिकाले हालको बस पार्कमा सिटी हल निर्माण गर्ने र बानपा–४ उपल्लाचौरमा नयाँ वसपार्कको काम सुरु गर्ने योजना प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रममा सिटी हल निर्माणको योजना समावेश गरिएकोले बजेट भने प्रदेश सरकार र केन्द्रीय तहबाट व्यवस्थापन गर्ने गरी प्रक्रिया अगाडी बढेको उपप्रमुख खडकाले जानकारी दिनुभयो ।
अघिल्लो महिना पोखरामा आयोजित जनप्रतिनिधिको प्रदेश स्तरीय भेलामा संसाद विकास समितिका सभापति रविन्द्र अधिकारले तत्काल सिटी हलको लागि जग्गा व्यवस्थापन गर्न आग्रह गर्दै बहुवर्षिय योजनामा समावेश गरी बजेट विनियोजन गर्ने आश्वसान दिनुभएको थियो मेयर जनकराज पौडेलले भन्नुभयो ‘सोही बमोजिम तत्कालको लागि ६० लाख रुपैया विनियोजन गरिएको छ ।’
संसाद विकास समितिका सभापति अधिकारीले बागलुङमा गतवर्ष सम्पन्न नेकपा एमाले निकट व्यवसायिहरुको संगठन नेपाल राष्ट्रिय वाणिज्य संघले आयोजना गरेको सडक खाना महोत्सवको उद्घाटन गर्दै सिटी हल निर्माणको लागि जग्गा व्यवस्थापन गरे भवन निर्माणको लागि आवश्यक रकम विनियोजन गर्ने उद्घोष गर्नुभएको थियो ।
यस विषयमा सांसद विकास समितिका सदस्य सांसद प्रकाश पौडेलले पनि आफ्नो पहलमा बजेट विनियोजन गरेको बताउनुभएको छ । निर्माण हुने सिटी हलमा करिव ३ हजार देखी ३५ सयसम्म मानिसहरु बस्नु सक्ने क्षमताको हुने छ । यसका लागि ४५ करोड रुपैयाँ प्ररम्भिक लागत अनुमान गरिएको उपप्रमुख खडकाले बताउनुभयो ।