नमुना काँठेखोला कसरी बनाउने ?

मनिभद्र शर्मा
नेपाली समाजको विकास र परिवर्तनका खाँतिर विगत लामो समयदेखि देशमा हुँदै आएका विभिन्न वलिदानी पूर्ण आन्दोलनहरु, नेपाली समाजको परिवर्तन, विकास र समृद्धिका लागि नेपाली जनताका आकांक्षा र चाहनाहरुको प्रतिफल स्वरुप नेपाल एक संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल भएको छ । नेपालीmबस् जनताले लामो सघर्ष र मेहनतबाट प्राप्त लोकतन्त्रको संस्थागत विकास गर्दै नेपाली जनताको समृद्धि र विकासको आकांक्षालाई साकार रुप दिई नेपाललाई विश्व मानचित्रमा एक सम्वृद्ध र सम्पन्न राष्ट्र बनाउन नेपालीको सकरात्मक पहलकदमी तथा मेहनतको आवश्यकता रहेको छ ।
नेपाल संघिय संरचनामा जाँदा स्थानिय निकायमा विभिन्न फेरवदलहरु भएका छन । संघिय संरचना अनुसार सिंगो देश ७ वटा प्रदेशमा विभाजन गरिएको छ । प्रदेश नम्वर ४अन्तर्रगत रहेको बागलुङलाई ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरि जम्मा १० वटा स्थानिय निकायमा विभाजित गरिएको छ । ६ वटा गाँउपालीका मध्ये अहिले हामी काँठेखोला गाँउपालिकाको वासिन्दा भएका छौं । यो सँग सँगै संविधानको कार्यान्वयन गणतन्त्रको संस्थागत विकास गर्दै नेपाली जनताको सम्वृद्धि र विकासको अभियानको नेतृत्व गर्दै समृद्ध काँठेखोला निर्माण गर्ने दायित्व र अविभारालाई कुशलतापूर्वक पुरा गर्ने दिशामा अघि वढनु हामी सबैको प्रमुख दायित्व बनेको छ ।
विकासका अनगिन्ती संभावना वोकेको र भविष्यमा नमूना गाउँपालिकाको रुपमा विकास गर्न सकिने यस क्षेत्रमा अनगिन्ती विकास निर्माण थुप्रै विकास प्रयासको पर्खाइमा रहेको छ  ।
समुद्र सतहदेखि करिव १००० मिटर देखि २४०० मिटर सम्मको उचाईमा फैलिएको यस काठेखोला गाउँपालिकामा प्रसस्त विकास निर्माणका संभावनाहरु रहेका छन । गत वैशाख ३१ गते भएको स्थानिय निकायको निर्वाचनमा नेपाली कागे्रस र नेकपा एमालेको नेतृत्वमा रहेको संयुक्त वामपन्थि प्यानलका विचमा चुनावी प्रतिशपर्धा भएको थियो चुनावमा नेकपा एमालेको नेतृत्वको संयुक्त वामपन्थि प्यानलका अध्यक्ष र उपाध्यक्ष विजयी भएको यस गाउँपालिकामा चुनावी परिणाम मिश्रीत रुपमा आएको छ ।
लोकतन्त्रमा चुनाव निश्चय पनि स्वभाविक प्रकृया हो । चुनावमा जाँदा कसैको जितर कसैको हार हुन्छ नै त्यसैलाई प्रतिशोध र तिक्तताको विषय नबनाई हामीभित्रको हार्दिकता, सामिप्यता, एकता र सहकार्यलाई प्रगाढ र थप मजवुत वनाई गाउँपालिकाको विकास र निर्माणमा सबै दल, जन समुदाय वृहत सहभागिता सहकार्य र एकताको साथ उठनु र जुट्नु जरुरी छ । निश्चय पनि यहाँका जनताको सुख, दुःखमा समसाथमा रह्ने हामीहरुनै हो । चुनावको संघारमा जनताको घर दैलोमा पुगेर जनतासँग मत माग्दा दलका प्रतिनिधिहरुबाट आ–आफ्नो दलका प्रतिवद्धता, घोषणापत्र र वाचा गरिएको छ । अब ति प्रतिवद्धता र जनतासँग गरेका वाचाहरु पुरा गर्न सबै दल एकजुट भई गाउँपालिकामा प्राप्त हुने र गाउँपालिकाले जम्मा गर्न सक्ने श्रोत साधनबाट जनताका विकास प्रतिका चाहना र आवश्यकताहरुको परि पूर्तिमा एकता र सहकार्यका माध्यमबाट सबै दलहरु मिलेर विकास निर्माणमा जुट्नु पर्दछ । जनताको प्रतिनिधीले तेरो मेरो भन्ने भावनाबाट मुक्तभई गाउँपालिकामा वसोवास गर्ने सवै वर्ग जाति समुदाय तथा भुगोलमा सामाजिक न्यायको सिद्धान्तलाई आत्मसात गर्दै न्यायोचित विकासमा जोड दिनु पर्दछ ।
पर्यटन पूर्वाधार जल संम्पदा, धार्मिक तथा प्राकृतिक रुपमा मनोरम स्थलहरुलाई पर्यटकिय स्थलको रुपमा विकास गर्न सके यस क्षेत्र सांच्चीकै नमूना गाउँपालिका बन्न सक्नेमा कुनै दुई मत छैन । आर्थिक, भौतिक, सामाजिक र सांस्कृतिक विकासको कुरा गर्दा जनतालाई पायक र सर्भसुलभ हुने गरि अस्पताल संचालन, कृषकहरुको उपजको उचित व्यवस्थापन र किनमेलका लागि संकलन केन्द्र संचालन, पर्यटन विकासका लागि पदमार्ग निर्माण होमस्टे संचालनगरी यस क्षेत्रका जनताको जीवन स्तरमा गुणात्मक सुधार गर्न सकिन्छ । यस गाउँपालिकाको वौर, गाजाको दह, विहुँ रामकोट, तंग्राम, धम्जाओखले असौजे, भीमापोखरा डोहेरी, गुनगुने थाप्ले तथा भीमापोखराको भीमादरवार क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । विभिन्न वडाहरुलाई कृषि उपजको पकेट क्षेत्रको रुपमा विकास गर्न सकिन्छ भने ताराखोला गाउँपालिका, गल्कोट नगरपालिका, बागलुङ नगरपालिका, जैमुनी नगरपालिका जस्ता नजिकका नगर तथा गाउपालिकासंग सडक संजाल विस्तार र विकास गरि गाउपालिकाको सम्पर्क समन्वय र व्यापार व्यवसायको विस्तार गर्न सकिन्छ । जनजातीको कला संस्कृतिको उत्थान संरक्षणका लागि जनजाती संग्राहलय निर्माण गर्ने तथा सडक संजालको विकास गरि हरेक वार्डका प्रत्येक वस्तीहरुमा सडक विस्तार र स्तरेन्तीगर्नु पर्ने देखिन्छ ।
जेष्ठ नागरिक आश्रम निर्माण गर्ने फापरखेत, घोडा वांधे क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गरि होटल व्यवसाय संचालनमा जोड दिने, अमर क्याम्पसको भौतिक तथा शैक्षिक स्तर उन्नतीका कार्यहरु संचालन गर्ने, भिमसेन क्याम्पसलाई प्राविधिक शिक्षा हांसिल गर्ने प्राविधिक क्याम्पसको रुपमा स्तरउन्नती गर्ने, विहुं किम्वोट चिरपानी क्षेत्रलाई फलफुल तथा दुधको पकेट क्षेत्रको रुपमा विकास गर्न सकिन्छ  । गाउपालिका केन्द्रको रुपमा सुल्डाँडा अक्षेते क्षेत्रको भौतिक विकासमा विशेष जोड दिनुपर्ने देखिन्छ । रेशको वौर तथा गाजादह क्षेत्रलाई पर्यटनको केन्द्रको रुपमा विकास गर्न सकिन्छभने यस गाउपालिकामा खेलकूदको विकासका लागि खेल मैदानहरुको निर्माण कार्यमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । हरेक वार्ड भित्र सडक विस्तार तथा वार्डलाई जोड्ने खोलाहरुमा पक्की पुलको निर्माण गर्नुपर्ने मुख्य आवश्यकता रहेको छ ।
गाउँपालिकामा रहेका अल्प संख्यक लोपउन्मुख जातीजनजातीको उत्थान विकास व्यवस्थापनमा विशेष जोड दिनुपर्ने देखिन्छ । लेखानीमा रहेको हाते कागज उद्योगलाई व्यवस्थित विकास गर्न विशेष पहलगरि हाते कागजबाट उत्पादित वस्तुको निर्यातमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । यसका साथै यस गाउपालिकाको केन्द्र अक्षेते सुल्डाँडामा करिव ५ सय जना अटन सक्ने क्षमताको सभाहल निर्माण गर्नुपर्ने देखिन्छ । यस गाउपालिकामा रहेको पानी तथा वन सम्पदाको व्यवस्थित प्रयोग र व्यवस्थापन गर्न सकेमा नमूना गाउपालिकाको रुपमा विकास हुने देखिन्छ । सबै राजनीतिक पार्टीहरुको विकास निर्माणमा राजनीतिक सहभागिता, रचनात्मक सहयोग एवं सम्पूर्ण जनताहरुको अर्थपूर्ण सहभागिता भएमा मात्र हामीले चाहेको परिणाममा विकास र प्रगति गर्न सकिन्छ । हाम्रो गाउपालिका राम्रो गाउपालिका, समृद्ध काठेखोलाका हामी समुन्नत जनता कहलिने छौ । त्यसैले हाम्रो भाग्य र भविष्यका लागि हामी सबै जुटौ उठौ एकापसमा सहयोग र सहकार्य गरौं गाउपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई रचनात्मक सहयोग गरौं सवल सक्षम कांठेखोला निर्माणमा सहभागि वनौं ।