
काठमाडौं, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओली जहाँ पुग्छन्, त्यहाँ रेलदेखि सुरुङसम्मका चर्चा गर्न भुल्दैनन् । विभिन्न स्थानमा रेलमार्ग बनाउने र नेपालको यातायात सहज बनाउने योजना सुनाउन उनी हतारिन्छन् । तर पुरानै ठाउँमा चलाउने गरी ल्याएको रेल पनि अझै सञ्चालनमा आउन सकेको छैन । जयनगर–जनकपुर खण्डमा चलाउन ल्याइएका दुई वटा रेल सेट पालले छोपेर थन्क्याइएको तीन महिना भयो । तिनको सञ्चालनबारे अझै अत्तोपत्तो छैन ।
२०७६ कात्तिकमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास भएको १४ महिना भयो । यसको पनि बल्ल सुरुङ निर्माण सुरु भएको छ । ४२ महिनामा निर्माण सम्पन्न गर्नुपर्नेमा अहिले सुरुङ छेड्न थालिएको छ । मंगलबारबाट पोर्टल बनाएर सुरुङ खन्ने काम सुरु भएको हो । काठमाडौंतर्फ पनि पोर्टल बनाएर काम थाल्ने तयारी हुँदै छ । धादिङतर्फ भने आपतकालीन उद्धार (स्केप्ट टनेल) सुरुङको काम अघि बढेको छ । मुख्य सुरुङको कामका लागि भने पोर्टल बनाउने काम थालिँदै छ ।
पूर्वतयारीका सबै काम गरेर मात्र खन्ने काम थालिएको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।
‘खोला तर्काउने, प्लेटफर्म सम्याउने, क्याम्प खडा गर्ने, मेसिन र विस्फोटक पदार्थ ल्याउनेलगायतका काम भए,’ उनले भने, ‘सबै तयारी सकेर अब खन्ने काम थालिएको हो ।’ उनका अनुसार भारतबाट तीन सय टन विस्फोटक पदार्थ ल्याइसकिएको छ । ‘अहिले खन्ने ठाउँको मुख लुज छ, त्यसैले तत्काल विस्फोटक पदार्थ प्रयोग गर्दैनौं,’ उनले भने, ‘प्रविाधिकहरूले २० देखि ३० मिटरमा केही साह्रो भाग आउँछ भनेका छन् । त्यसपछि मात्र विस्फोटक पदार्थ प्रयोग गर्छौं ।’
एक–एक मिटरमा गोलो फलामको बिमले सपोर्ट दिएर सुरुङ खन्न थालिएको हो । धादिङतिर मुआब्जाको समस्या नटुंग्याई ठेक्का गर्दा लामो समय त्यही समस्या समाधानमा सकियो । विस्फोटक पदार्थ ल्याउन पनि नेपाली सेनाबाट स्वीकृति लिन करिब नौ महिना पर्खनुपर्यो । यहीबीचमा कोभिड–१९ संक्रमण बढेपछि समयमै काम अघि बढाउन नसकिएको थापा बताउँछन् । ‘अब त्यस्तो समस्या छैन,’ उनले भने, ‘निर्माणको रफ्तार बढ्दै जानेछ ।’
दुई वटा सुरुङ निर्माण गरिनेछ । एउटा सवारी ओहोरदोहोर गर्ने र अर्को आपतकालीन उद्धारका लागि प्रयोग हुनेछ । धादिङतर्फ भने आपतकालीन उद्धार सुरुङ खन्ने काम थालिएको हो । ‘काठमाडौंतिर ड्रिलिङ गरेर केमिकल राख्ने काम हुँदै छ,’ नागढुंगा–सिस्नेखोला सुरुङ आयोजना निर्देशक नरेशमान शाक्यले भने, ‘चार दिनपछि पोर्टल राखिन्छ, त्यसपछि खन्ने काम सुरु हुनेछ ।’ सुरुङभित्र केही दुर्घटना भए आपतकालीन उद्धार गर्न मात्र उक्त सुरुङ प्रयोग गरिनेछ । धादिङतर्फको सवारी ओहोरदोहोर गर्ने मुख्य सुरुङको काम भने दुई–चार दिनमा सुरु हुने उनको भनाइ छ । ‘अहिले उक्त स्थानको सुरुङको मार्किङ गरेर केमिकल राख्ने काम हुँदै छ,’ उनले भने, ‘यसको पनि चाँडै काम थालिनेछ ।’
अहिले निर्माणस्थलमा २ सय ९० जना कामदार खटिएका छन् । ‘काठमाडौं–बलम्बु क्षेत्रमा फ्लाई ओभर निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छैन,’ थापाले भने, ‘१२ रोपनी जग्गा हो, सबै स्वीकृत भइसकेको छ, जिल्ला प्रशासनमार्फत टुंग्याउने काम हुन बाँकी छ ।’ उनका अनुसार १३ महिनामा सुरुङ छेड्ने काम सकिनेछ । त्यसपछि लाइनिङ गर्ने, सञ्चार उपकरण, लाइटिङ उपकरण राख्ने काम गरिनेछ ।
यसको निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डोले लिएको हो । ‘अहिलेसम्म निर्माण व्यवसायीले तोकिएकै समयमा काम सक्छौं भनेका छन्, थप समय चाहियो भनेर मागेका छैनन्,’ उनले भने, ‘नमागी समय धेरै लाग्छ भन्ने कुरा आएन, हामीले कामको गति बढाऊ, ४२ भन्दा बढी समय नलगाउन भन्दै आएका छौं ।’ तोकिएकै समयमा सक्ने गरी काम भइरहेको उनको दाबी छ ।
आयोजनामा नौ सय टन विस्फोटक पदार्थ प्रयोग हुने अनुमान छ । निर्माणका क्रममा सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ परीक्षणका रूपमा प्रयोग गरिनेछ । ‘सेनाको विस्फोटक पदार्थले राम्रो काम गरे थप विस्फोटक पदार्थ भारतबाट ल्याउँदैनौं,’ थापाले भने । निर्माण कम्पनीले गत जेठ तेस्रो साताबाट सुरुङ खन्ने तयारी गरेको थियो । जेठमै सुरुङ खन्ने भन्दै आयोजनामा निर्माण कम्पनीले योजना पेस गरेको थियो । तर विस्फोटक पदार्थ समयमै नआउँदा सुरुङको काम थाल्न ढिला भएको थियो ।
सुरुङ विज्ञसहित २० जनाको विदेशी प्राविधिक टोली अहिले फिल्डमा छ । आवश्यकताअनुसार प्राविधिक थप गर्दै लगिनेछ । २ दशमलव ६८ किमि दूरी रहने सुरुङ निर्माणका लागि जापानको साढे १६ अर्ब ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको रहेको उनको भनाइ छ । जसमा ६ अर्ब नेपाल सरकारको छ । अहिले नागढुंगादेखि सिस्नेखोलासम्म साढे ८ किमि दूरी छ । सुरुङबाट आउँदा भने सवा ३ किमि मात्र दूरी पर्नेछ । कान्तिपुर दैनिकमाा विमल खतिवडाले खबर लेखेका छन् ।
