शिव बोहोरा (राहुल)
हिन्दु धर्म र हिन्दु वर्णा श्रम व्यवस्था दुई फरक कुराहरू हुन । ब्रम्हा, बिष्णु, महादेव जे जति भगवान र देवताहरु छन् तिनीहरुलाई पुजा गर्नु कुनै पाप गरेको हँुदैन । चाहे ढुङ्गो पुजा गरून् वा मन्दिरमा गएर कुनै देवताको पुजाआजा गरुन त्यो मानिसको आस्था र बिश्वास हो ।

जुन समाजमा जन्म्यौ, हुक्यौ त्यो समाजले जुन धर्म मान्दै आईरहेको छ त्यही धर्म प्यारो लाग्नु स्वाभाविक नै हुन्छ । म आफै हिन्दु धर्मप्रती आस्था र बिश्वास राख्दै आएको छु ।

मेरो बिचारमा हिन्दु धर्म आफैमा नराम्रो होईन । मैले अरु कुनै धर्मको समर्थन गर्दै हिन्दु धर्मको बिरोध गरेको पनि होईन ।

“तपाईले मान्नुहुन्छ भने ढुङ्गा पनि देउताको रूपमा देखिन्छ, तपाईं मान्नु हुन्न भने बुद्धलाई पनि मान्छे देख्नुहुन्छ”

“धर्म भन्ने कुरा मानिसको हृदय र आत्माबाट महशुस गर्ने कुरा हो । बाहिर कसैले अल्लाह भनेर चिच्याउछन्, कसैले चर्चामा गएर यशु भनेर प्रार्थन गर्दछन्, त कसैले मुर्तिलाई धुपबती चढाएर पुजा गर्दछन । तर हाम्रो बिरोध भनेको वर्णाश्रम व्यवस्था, वर्ण र जात प्रथा, छुवाछूत तथा भेदभाव आदि कुराहरूको विरुद्धमा मात्रै हो ।

मानव जातिलाई वर्ण र जातहरुमा बिभाजन गर्ने, जातीय , उचनिचका श्रेणीहरुमा राख्न, छुत र अछुत बनाउन, धर्म कर्म गर्न नदिने जस्ता कुराहरु धर्म भित्र पर्दैन्न ।

दलितमुक्ति तब हुन्छ जब नेपालबाट हिन्दु वर्णप्रथा र जात प्रथाको सबैधानिक अन्त्यको घोषण हुन्छ । सम्पुर्ण हिन्दु परम्परागत जातलाई अबैधानिक घोषण गरि पुनः प्रयोग गर्न प्रतिबन्ध लगाएपछि मात्रै दलित मुक्तिको ढोका खुल्छ ।

यो कुरा माकर्सको जातीबिहिन समाजको परिकल्पनासँग मिल्छ । नेपाल सरकारद्वारा वर्ण श्रम व्यवस्थाको सबैधानिक जगलाई सार्वजनिक घोषणद्वारा अन्त्य गरेपछी जात बिभाजनको पनि औचित्य समाप्त हुन्छ ।

त्यसपछि उत्पीडित र अत्याचारमा परेका जनताको आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीति उत्थानको वास्तविक आन्दोलन सुरु हुन्छ ।

तर त्यो बेलासम्म परम्परागत वर्ण र जात प्रथाको अन्त्य भइसकेको हुँदा कसैले पनि म कामी, त दमाई, म बाहुन आदि भन्नुपर्ने छैन किनकी त्यहा जातहरु बाँकी नै रहेका हुने छैन्न ।

जात बिहिन समाजको कल्पन सबै सम्मान
नेपाली समाजमा एउटा कुकुर म¥यो भने त्यसलाई फ्याक्ने मानिसको अभाव हुँदैन तर कोही एउटा दलित मर्दा उसका जातका मान्छे त्यहाँ रहेनछ् भने त्यसलाई फ्याक्ने मान्छे पाइँदैन’ (बाबु टिका) ।

यहि यथार्थताका बीच बाँचिरहेका छन् दलित समुदाय । बहुजाती र बहुभाषि रहेको नेपाली समाजमा दलित जाती पाखा पारिएका जाती मानिन्छन् । जनावरले समेत आफ्नो ढंगले अधिकारको उपभोग गर्न पाउँदछ तर दलित भएर जन्मेकै आधारमा छुवाछुत र भेदभाव भोग्नुपर्ने स्थिति अद्यापि ज्यूँकात्यूँ छ । दलित जाती आफू मानव भएर स्वतन्त्रतापूर्वक जिउन पाएका छैनन् ।

मान्छे भएर जन्मेपछि स्वतन्त्रढंगले बाँच्न र राज्यद्वारा प्रदत्त अधिकारहरूको समान उपभोग गर्न पाउनु सबै मानबको नैसर्गिक अधिकार हो तर नेपाली समाजमा भने दलित भएर जन्मेकै आधारमा ऊ आफ्नै अधिकारबाट समेत वञ्चित हुनुपरेको छ । नेपाली समाजमा मात्र नभएर युगौदेखि बलियोले निर्धोलाई हेप्ने र मालिक र दासको मानसिकता संसारभर कुनै न कुनै रुपमा रहेको चल्दै आएको पाइन्छ ।

संसारमा देखापरेको सबै जातीय समस्याहरूमध्ये ‘छुवाछुत’ सबैभन्दा क्रुर र मानवीय तत्वलाई हिनताग्रस्त बनाउने समस्या हो । यो देख्दा सामान्य लाग्ने तर अनुभूति गर्दा र भोग्दा अत्यास लाग्ने समस्या हो ।

दलितहरूले बर्षौंदेखि भोग्न विवश छुवाछुतको समस्या पीडादायक छ । एउटै समाजमा बसेर पनि दलित हुनुका कारण मानव भएर बाँच्ने हैसियतसम्म पाएका छैनन् उनीहरूले । समाजमा भोग्नु परेको पीडा तथा राज्यले उनीहरूमाथि गरेको भेदभावका कारण उनीहरूको जीवन अत्यन्त पीडादायक छ ।

दलित परिभाषा र नेपालमा दलितको उत्पति
नेपालमा दलितको उत्पत्ति श्रम विभाजनको आधारमा भएको पाइन्छ । श्रम विभाजन अनुसार गरिएको वर्गिकरणबाट पछि कसैले पनि विद्रोह नगरुन् भनेर सत्तामा बस्नेहरूले विभिन्न कठोर कानूनहरू बनाई छुवाछुतलाई नै वैधानिक बनाउने काम भयो । यसरी सयौं वर्षदेखि चल्दै आएको छुवाछुतको परम्परालाई परिष्कृत गर्न कसैले हिम्मत गर्नु भनेको कानूनको दृष्टिमा नै अपराध मानिने हुँदा एउटै समाजभित्र रहेर पनि दलित जातीहरू देशको नागरिक हुन पाएनन् भने उनीहरू पनि यसलाई आफ्नै भाग्यको खेल मानेर चुप लागेर बस्न बाध्य पारिए । “भेदभावपूर्ण व्यवहारको प्रतिवाद गर्ने साहस धेरैजसो दलितहरूमा आजसम्म कम्ति नै छ र यसलाई उनीहरूले भाग्यका रुपमा बाध्य भएर स्विकार गरेका छन्” (कृष्ण बहादुर बोहोरा), आदि ।

मान्छेको कुनै पनि कुरालाई हेर्ने दृष्टिकोण एउटै हुँदैन । हेराइ र भोगाइ अनुसार समस्यालाई हेर्ने र त्यहि अनुसार व्याख्या विश्लेषण गर्ने गर्दछन् । दलित समस्या कस्तो खालको समस्या हो भन्ने सम्बन्धि विद्धानहरूले विभिन्न तर्क गर्ने गरेको पाइन्छ । ‘दलित’ को परिभाषा सबभन्दा पहिला सन् १९७७ मा भारतका दलित प्यान्थरवालाहरूले गरेका थिए । उनीहरूले दलितको व्याख्या गर्दै जुन मान्यताको स्थापना गरे, त्यो हो– “जो व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष छुवाछूतको सिकार हुन्छ ।” त्यसका साथै जुन वर्ग सामाजिक उत्पीडनको सिकार भइरहेको छ । विशेष गरि युद्धमा हारेर दासि बनाइएकाहरूलाई, शुद्रमा झारिएकाहरूलाई दलित भन्न थालिएको पाइन्छ भने त्यस्तैगरी तल्लो स्तरको काम गर्ने जातिलाई दलित भनिने गरिएको पाइन्छ ।

“नेपालमा दलित शब्दलाई वि.स २०२४ सालमा गठित ‘नेपाल राष्ट्रिय दलित जन विकास परिषद्’ नामको संगठनले पहिलोचोटी प्रयोगमा ल्यायो । त्यसअघि नेपालमा ‘अछुत’, ‘परिगणित’, ‘हरिजन’ जस्ता शब्दहरू प्रयोग गरिन्थ्यो । यसप्रकार दलित आन्दोलनका क्रममा स्थापित ‘दलित जाती’ शब्दले हिन्दु समाजमा ‘अछुत’ बनाइएका जातहरूको साझा परिचय बुझाउने अर्थ ग्रहण गरिसकेको छ र ती जातहरूले पनि ‘दलित जाति’ शब्दलाई आन्दोलनबाट स्थापित आफ्नो सम्मानजनक परिचयका रुपमा ग्रहण गरिसकेको छ ।”

संयूक्त राष्ट्र संघको सबै किसिमको जातीय भेदभाव उन्मुलन गर्ने सम्बन्धी महासन्धि १९६५ को धारा १(१) ले हाम्रो सन्दर्भमा रहेको दलितको परिभाषालाई जातिय भेदभावका रुपमा परिभाषित गरेको छ । सो महासन्धिमा भनिएको छ “जातीय भेदभाव भन्नाले जात, रंग, वंश, राष्ट्रियता र उत्पत्तिका आधारमा गरिने फरक व्यवहार, पृथक संकुचनता तथा अन्यलाई ग्राहयता दिनुलाई बुझिन्छ, जसले मानवीय मर्यादा अधिकारको प्रयोग र मानव अधिकारको उपयोगमा समान हैसियत लगायत मूलभूत राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार लगायतका हकमा हनन् पु¥याउँछ ।”

यद्दपी उक्त महासन्धिमा दलित जातीय समस्यामा नपरेको दाबी गर्दै आहुति भन्छन् “आजसम्म पनि संयूक्त राष्ट्र संघको सबै प्रकारका जातीय भेदभाव निर्मूलसम्बन्धी महासन्धि–१९६५ भित्र वास्तवमा छुवाछुतमय दलित जातीय समस्या परेको छैन ।”
चरम आर्थिक शोषण तथा सामाजिक उत्पीडनको सिकार भई पानी नचल्ने ठानिएको समूदाय नै दलित हो (विश्वकर्मा र सुन्दर २००२) । उन्नाइसौं शताब्दीको सुधारवादी आन्दोलनको उपज हो, दलित शब्दको व्युत्पति संस्कृत धातु ‘दल’ बाट भएको जसको अर्थ फुटाउनु, टुक्रा–टुक्रा पार्नु र कुल्चनु हुन्छ, (सुजन परिवार) ।

नेपाली बृहत् शब्दकोषमा ‘दलित’ शब्दको शाब्दिक अर्थ, फुटाइएको, दविएको, दमन गरिएको, थिचिएको, कुल्चिएको हो र दलित समुदाय भन्नाले समाजमा हक, इज्जत, प्रतिष्ठा समान रुपले पाउन नसकेको जातिलाई जनाउँछ । “धर्म राज्यसत्ता र कानुनको आधारमा सयौं वर्ष देखि सामाजिक रुपमा ‘अछुत’ पारिएका तथा राजनीतिक आर्थिक, प्रशासनिक, शैक्षिक क्षेत्रका समान अवसरबाट वञ्चित गराइएका, सांस्कृति क्षेत्रमा पिछडिएका, सामाजिक कुरीति र अन्धविश्वासले ग्रस्त र वर्तमानमा पनि प्रजातन्त्रको फल चाख्न नपाएका, हिन्दु वर्णाश्रम व्यवस्था अनुरुप विभिन्न उपजातिमा विभक्त, शोषित उत्पीडित, सिल्पी, कलाकार र श्रमिक वर्ग नै दलित जाति वा वर्ग हो” (यामबहादुर किसान) ।

नेपालको सन्दर्भमा वि.स १९१० को मुलुकी ऐनले जातिय भेदभाव एवं समाजमा अछुत मानिएका र सामाजिक, आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक तथा धार्मिकरुपमा राष्ट्रिय मूलप्रवाहबाट पछाडि पारिएका जातजातीका समुदायलाई दलित वर्ग भनी परिभाषित गरेको छ भने नेपाली समाजमा पानी चल र अचल ठहर गरेको समुदाय नै ‘दलित समुदाय’ हो भनेको छ । वि.सं २०२० सालको मुलुकी ऐन, अदलको १० (क) न. लागू हुनुभन्दा अगाडिका राज्य, समाज व्यवस्थाले ‘जातपात र छुवाछुत प्रथा’ कायम गराई (अद्यापि कायम रहेको) पानी नचल्ने, छोइछिटो हाल्नु पर्ने (अछुत) जातिका रुपमा चिनिने समुदायहरू नै दलित हुन् ।

यसरी दलितको परिभाषाका सम्बन्धमा विभिन्न व्याख्या रहे पनि यथार्थमा हामीले देख्दै र बुझ्दै आएको के हो भने सामाजिक रुपमा हेपिएका, आर्थिक रुपले दबिएका, सांस्कृतिक रुपले पाखा लगाइएका र राजनीतिक रुपले उपभोग र शोषणमा पारिएका जाती नै दलित हुन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here