
बागलुङ, ११ असार
नेकपा एमाले जिल्ला कमिटि बागलुङको दोश्रो पूर्ण बैठक बडिगाड गाउँपालिकाको खर्वाङ बजारमा सम्पन्न भएको छ ।
स्थानीय तहको निर्वाचनपछि पहिलो पटक बसेको वैठकमा चुनावको समिक्षा तथा आगामी रणनीतिको विषयमा छलफल भएको छ ।
वैठकले स्थानीय तहको निर्वाचनमा वाम तालमेलका कारण उपलब्धि भएको र आगामी निर्वाचनमा पनि तालमेललाई कायमै राख्नु पर्ने निष्कर्ष निकालेको छ।
वैठकले ४ स्थानीय तहमा विजयी हासिल गर्नु सकारात्मक भएको र जिल्लामै जनसंख्याको हिसावले ५०.८१ प्रतिशत नेतृत्व एमालेले गरेको निष्कर्ष निकालेको छ ।
वैठकमा नेकपा एमाले स्थायी कमिटि सदस्य तथा प्रदेश संगठन कमिटि प्रदेश नं. ४ का संयोजक किरण गुरुङले स्थानीय तहको संचालन र जन प्रतिनिधिको भूमिका विषयमा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नु भएको थियो । उहाँले जनप्रतिनिधिहरुले जनतालाई सहज र सर्वसुलभ सेवा दिने गरी संरचना, कानुन र बजेट बनाउन सुझाव दिनु भएको छ ।
वैठकले असार साउन र भदौ मा ३ महिने आर्थिक सुदृढीकरण अभियान संचालन गर्ने, प्रत्येक गाउँ तथा नगर वैठक तत्काल संचालन गर्ने, आर्थिक काम पारदर्शिता कायम गर्न दोहोरो लेखा प्रणाली र वैंकिङ प्रणाली सुरु गर्ने, यहि असार १७ गते वुर्तिवाङमा र २१ गते बागलुङमा जनप्रतिनिधीहरुको लागी एक दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने, पुष्पलाल स्मृति दिवस र मदन जयन्ती रचनात्मक कार्यक्रमका साथ मनाउने लगाएतका निर्णय गरेको छ ।
बैठकले जिल्ला समन्वय समितिको निर्वाचनमा वाम तालमेल गर्ने, विज्ञहरुको समुह निर्माण गरि स्थानीय सरकारको संरचना निर्माण, कानुन निर्माण तथा वजेट विनियोजनमा जनप्रतिनिधिलाई सहयोग गर्ने, निर्णय गरेको छ । त्यस्तै वैठकले २८ जनालाई जिल्ला सल्लाहकार परिषद्मा मनोनयन गरेको छ ।
यस्तै आर्थिक विभाग प्रमुख भुपाल चालिसेको संयोजकत्वमा ५ सदस्यीय आर्थिक कार्यदल निर्माण गरेको छ । जसको सदस्यहरुमा गणेश थापा, वावुराज कार्कि, पुनम शर्मा र दिपक गौतम रहनुभएको छ । त्यस्तै वैठकले पार्टीको आधिकारीक वेभ साइट संचालन गर्न तथा पार्टीको मुखपत्र आह्वान लाई नियमीत प्रकाशन गर्न सचिव लालबहादुर थापाको संयोजकत्वमा समिति निर्माण गरेको जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो ।









