रिघाका ७ घर र एक बिद्यालय पहिरोको उच्च जोखिममा

बागलुङ, ११ असार
गलकोट नगरपालिका वाड नम्बर ११ रिघामा ७ घर र एक बिद्यालय पहिरोको उच्च जोखिममा परेका छन । निरन्तर रुपमा बर्षा हुन थालेपछि पहिरो खस्दा साबिक रिघा गाबिस वाड नम्बर ७ मनेवापाटाका ७ घर र एक बालज्योति प्राथमिक बिद्यालय पहिरोको जोखिममा परेको गलकोट नगरपालिका वाड नम्बर ११ का नवनिर्वाचित अध्यक्ष डम्बर श्रीसले बताउनुभयो ।
गत महिना खसेको सुख्खा पहिरोले बर्षायाम सुरु भएसँगै ठुलो रुप लिन थालेको श्रीसले बताउनुभयो । पहिरो मध्यहाडी लोकमार्ग देखि करिब २ सय मिटर माथीसम्मबाट खसेको छ । दिनहु माटो बग्न थालेपछि पहिरोदेखि लगभग २, ३ सय माथी रहेका घर र बिद्यालय झर्न सक्ने स्थानिय लोकेन्द्र शाहिले बताउनुभयो ।
दरमखोला हाईड्रो ईनर्जिले पाईप बिच्छाउनका लागी लोकमार्गको कुना भागको सतहलाई फराकिलो बनाईरहेका कारण पहिरोले बिशाल रुप लिईरहेको शाहिको गुनासो छ । बर्षा याम सुरु भएका कारण निरन्तर पहिरो झर्ने गरेपछि बुर्तिबाङ, खर्वाङ, बागलुङ, काठमाण्डौ बाट आवतजावत गर्ने सवारी साधनहरु तथा यात्रुहरुलाई समस्या पर्ने गरेको छ ।