दोषीलाई कारवाही गर्ने सहमती भएपछि आफन्तले सुनिल पुनको शव बुझे

बागलुङ, ३ असार
धौलागिरी अञ्चल अस्पतालमा बिगत ४ दिनदेखि रहेको सुनिल पुनको शवको आज अन्त्यष्टी गरिएको छ ।
गत बुधवारदेखि अञ्चल अस्पतालमा रहेको बागलुङको काठेखोला गाउँपालिका–८ कादेशका १८ बर्षिय सुनिल पुनको शव आफन्त र परिवारले बुझेपछि कालीगण्डगीको निरयघाटमा अन्त्यष्टी गरिएको हो ।
आफन्त र प्रहरी प्रशासनबिच भएको छलफल अनुसार घटनाको अनुसन्धान गरि दोषीलाई कारवाही गर्ने सहमती भएपछि आफन्त र परिवारले शव बुझेको जिल्ला प्रहरी कार्यालयका इन्पेक्टर खर्गनारायण शाहले जानकारी दिनुभयो ।
प्रहरीले मालढुङ्गा चेकपोष्टमा पुग्दै गर्दा लागुऔषध प्रयोग र ओसार पोसारमा सम्लग्न भएको आंशकामा सोधपुछ गर्न थाले पछि पुन भागेको र भाग्ने क्रममा प्रहरी र म्यादी प्रहरीले पछ्याए पछि आत्तिएर नदिमा हाम फाल्न बाध्य बनाएको भन्दै आफन्तले पिडितको परिवारलाई क्षतीपुर्ति र दोषीलाई कारवाहि हुने पर्ने माग गर्दै शव फेला परे पनि बुझ्न अस्विकार गरेका थिए ।
गत जेठ २३ गते बागलुङ वाट कुश्मा तर्फ जाँदै गरेको ट्याक्सी जाँचपछि लागु औषधको कारोवार तथा प्रयोग गरेको आशंकामा पक्राउ गर्न खोज्ने क्रममा भागेर नदीमा हाम फालेका पुनको शव गत बुधवार मृत अवस्थामा फेला परेको थियो ।
पुनको उद्धार तथा खोजीमा प्रहरी प्रशासनले तदारुकता नदेखाएको र पक्राउ गर्ने नाममा नदीमा हाम फाल्न बाध्य बनाएको भन्दै आफन्त र शुभेच्छुकहरुले बागलुङ बन्द सहितको आन्दोलन समेत गरेका थिए ।
ट्याक्सी चालक सहित तिन जना गाडीमा रहेकोमा मकवानापुरका भिमसेन लामा र बानपा २ का दिपेन्द्र कार्कीलाई भने नियन्त्रण लिइएको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । लामा र कार्कीको मोवाइलको म्यासेजका आधारमा प्रहरीले रामरेखाबाट लागुऔषध ओसार पोसारमा सक्रिय भारत महाराजगञ्जका १८ बर्षिय भारतिय युवक दिपेन्द्र हरिजनलाई समेत पक्राउ गरेको थियो ।