बागलुङ जिल्ला लिगको उपाधि फ्युचरलाई

अर्जुन कार्की
बागलुङ, ३० जेठ
अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यक्रम अनुसार जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको जिल्ला लिग फुटबलको उपाधि फ्युचर स्पोर्टस् क्लबले जितेको छ ।
मंगलबार बाङ्गेचौर खेलमैदानमा भएको फाइनल खेलमा फ्युचर स्पोर्टस् क्लबले चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको १४ औं मिनेटमा चिल्ड्रेन लाईफका दिलीप जिसीले बारमा लागरे फर्केको बललाई पोस्टको दिसा देखाउँदै टिमलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता धेरै बेर टिक्न सकेको थिएन । फ्युचरको लागि खेलको ३० औं मिनेटमा आशिष गुरुङले बराबरी गोल फर्काएका थिएभने त्यसको १३ मिनेट पछि अविशेक बोहोराले उत्कृष्ट गोल गर्दै टिमलाई पहिलो हाफमा १ गोलको अग्रता दिलाएका थिए ।
फ्युचरको लागि तेस्रो गोल क्याप्टेन कमल थापाले दोस्रो हाफको सुरुवातमै गरेका थिए । उनले खेलको ४६ औं मिनेटमा डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुम्न सफल भएको थियो ।

२ गोलको अग्रता पछि केही फिक्का बनेको खेलको ८१ मिनेटमा चिल्ड्रेन लाईफले पेनाल्टी मार्फत गोल गरेको थियो । डिबक्स भित्र फ्युचरका डिफेण्डर आशिष गुरुङले चिल्ड्रेन लाईफका खेलाडीलाई ट्याक्कल गरेपछि दोहोरो पहेलो कार्डबाट रेड कार्ड खाँदै मैदान बाहिरीएका थिए । उक्त पेनाल्टीमा चिल्ड्रेन लाईफका उमेश थापाले गोल गरेका थिए । खेलको केही समय १० खेलाडीमा सिमित भएतापनि फ्युचरले उपाधि चुम्न सफल भएको छ ।
फ्युचर लिगको विजेता बन्दै नगद ५० हजार र ट्रफि प्राप्त गरेको छभने उपविजेतामा सिमित चिल्ड्रेन लाईफले नगद २५ हजार र ट्रफि प्राप्त गरेको छ ।
यस्तै प्रतियोगितामा चिल्ड्रेन लाईफका दिलीप जिसी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद २ हजार प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट गोलकिपर चिल्ड्रेन लाईफका सुनिल थापा, उत्कृष्ट डिफेण्डर पावर फिटनेश क्लबका क्षितिज आचार्य, उत्कृष्ट मिडफिल्डर रुद्रेपिपल युवा क्लबका युकेश थापा र उत्कृष्ट स्ट्राईकर चिल्ड्रेनका दिलीप जिसी र उच्च गोलकर्ता चिल्ड्रेनका दिवश बुढाथोकी घोषित हुँदै सवैले नगद १–१ हजार प्राप्त गरेका थिए । यस्तै अनुशासित टिम बागलुङ स्पोर्टस् क्लब घोषित हुँदै २ हजार नगद प्राप्त गरेको छ ।
लिगमा ८ टिमको सहभागिता रहेको थियो । जिल्ला फुटबल संघ बागलुङले सुरुवातमा १० टिमको सहभागिता रहने जनाएपनि पछि २ टिम सहभागि नभएकाले ८ टिमलाई खेलाइएको जनाएको छ ।