चिल्ड्रन लाईफ बागलुङ जिल्ला लिग फुटबलको फाइनलमा प्रवेश

फ्युचर र रुद्रेपिपलको खेल वर्षा अवरुद्ध

अर्जुन कार्की
बागलुङ, २८ जेठ
गत मंगलबारदेखि बागलुङ बजारमा जारी बागलुङ जिल्ला लिग फुटबलको फाइनलमा चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब प्रवेश गरेको छ ।
आईतबार भएको पहिलो सेमिफाइनल खेलमा चिल्ड्रन लाईफ स्पोर्ट्स क्लबले रस आवर फुटसललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
उक्त खेलमा चिल्ड्रन लाईफ स्पोर्ट्स क्लबले रस आवर फुटसललाई ५–० गोलअन्तरले पराजित गरेको थियो । खेल अवधिभर चिल्ड्रेन लाईफ हावि भएको थियो । चिल्ड्रेनलाई फाइनलमा प्रवेश गराउनको लागि दिलिप जिसीले ह्याट्रिक गोल गरेका थिए । उनले खेल सुरु भएको १८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिएभने दोस्रो हापको दुई मिनेट र ११ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।
चिल्ड्रेनको जितको लागि सन्तोष थापाले पहिलो हापको ४० औं मिनेट र उमेश थापाले दोस्रो हापको ४ मिनेटमा गोल गरेका थिए ।
यस्तै मंगलबार भएको दोस्रो सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध हुन पुगेको छ । फ्युचर स्पोर्टस् क्लब र रुद्रेपिपल युवा क्लब विचको दोस्रो सेमिफाइनल पहिलो हापको खेल सकिएपछि अवरुद्ध हुन पुगेको हो । पहिलो हाफमा फ्युचर स्पोर्टस् क्लबले २–० को अग्रता लिएको थियो । फ्युचरको लागि दुवै गोल प्रमल थापाले खेलको १० र १५ औं मिनेटमा गरेका थिए ।
अवरुद्ध भएको खेल सोमबार खेलाईने जिल्ला फुटबल संघ बागलुङका महासचिव जय राजभण्डारीले जानकारी दिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को बार्षिक कार्यक्रम अनुसार बागलुङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा लिग विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले समान २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उच्च गोलकर्ताले समान १ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ ।
चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब र दास्रो सेमिफाइनल खेलको विजेता विचको फाइनल खेल सोमबार दिउँसो हुने जिल्ला फुटबल संघ बागलुङका महासचिव राजभण्डारीले जानकारी दिए ।