बागलुङ लिगमा रस आवर, फ्युचर र चिल्ड्रेन लाईफ विजयी

बागलुङ, २५ जेठ
बागलुङ जिल्ला लिग फुटबलको तेस्रो दिन बिहीबार रस आवर फुटसल, फ्युचर स्पोर्टस् क्लब र चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब विजयी भएका छन् ।
जिल्लाको बाङ्गेचौर खेलमैदानमा भएको समुह वि अन्तरगतको खेलमा रस आवर फुटसलले मुलपानी खेलकुद विकास समितिलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।
पहिलो हाफको १४ औं मिनेटमा गणेश विसीको गोलबाट अग्रता लिएको रस आवरले दोस्रो हाफको ६ मिनेटमा शंखर थापाले दोस्रो गोल गरेका थिए । मुलपानी खेलकुद विकास समितिकाको लागि दोस्रो हाफको २० औं मिनेटमा सचिन केसीले गोल गरेका थिए । जितसँगै रस आवरको दुई खेलबाट चार अंक भएको छभने मुलपानीले खाता खोलन सकेको छैन ।
अर्को खेलमा फ्युचर स्पोर्टस् क्लबले पावर फिटनेस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै आफ्नो जितलाई निरन्तरता दिएको छ । फ्युचरका लागि खेलको पहिलो हाफको ५ औं मिनेटमै पुर्ण बहादुर गुरुङले गरेको उत्कृष्ट गोल नै जितको आधार बन्यो । पहिलो हाफमा कमजोर प्रदर्शन गरेको पावर फिटनेसले दोस्रो हाफमा केही सुधारीएको खेल प्रदर्शन गरेपनि गोल गर्न सकेन । उक्त जितसँगै फ्युचरले दुई खेलबाट ६ अंक प्राप्त गरेको छभने पावर फिटनेस क्लबले दुई खेलबाट १ अंक प्राप्त गरेको छ ।
यस्तै बिहीबार नै भएको अन्तिम खेलमा चिल्ड्रन लाईफ स्पोर्टस् क्लबले युनिक स्पोर्टस् क्लब माथि सजिलो जित प्राप्त गरेको छ । चिल्ड्रेन लाईफले युनिक स्पोर्टस् क्लबलाई ८–० गोलअन्तरले पराजित गरेको छ ।
जित सँगै चिल्ड्रेन लाईफले ३ खेलबाट ७ अंक प्राप्त गरेको छभने युनिक स्पोर्टस् क्लब ३ खेलमा पराजित हुँदै खाता नखोली समुहबाट बाहिरीएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को बार्षिक कार्यक्रम अनुसार बागलुङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा लिग विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले २–२ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उच्च गोलकर्ताले समान १ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ ।
जिल्ला लिग अन्तरगतमा भोलीसमूह ‘क’को बागलुङ स्पोर्टस् क्लब विरुद्ध रुद्रेपिपल युवा क्लब, समुह ख को फयुचर स्पोर्टस् क्लब विरुद्ध रस आवर फुटसल र मुलपानी खेलकुद विकास समिति विरुद्ध पावर फिटनेस क्बल विच प्रतिस्पर्धा हुने जिल्ला फुटबल संघ बागलुङका महासचिव जय राजभण्डारीले जानकारी दिनुभयो ।