
बागलुङ, २५ जेठ
बागलुङ बजारको रामरेखाबाट लागूऔषध सहित एक भारतीय युवक पक्राउ परेका छन् ।
गत मंगलवार पक्राउ परेका दुई युवाले प्रयोग गरेको मोवाइल सन्देशका आधारमा भारतको महाराजगञ्च, झिम्टी गाउँका १८ वर्षीया जोतेन्द्र हरिजनलाई तिन सय एम्पुल सहित बागलुङ नगरपालिका–१ रामरेखाबाट बिहिवार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका हरिजनको साथबाट लागूऔषध फेनार्गन, नुर्फिन, डाइजपाम सय–सय एम्पुल र नाइट्राजेपाम २ पत्ता बरामद गरिएको छ । नियन्त्रणमा लिएका हरिजन र थप सञ्जालका बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अनिलकुमार खड्काले जानकारी दिनुभयो ।
हरिजन भारतबाट लागूऔषध ल्याई बागलुङ आसपासका क्षेत्रमा बेच्ने कार्यमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ‘लागूऔषधको कारोबारमा ठूलै गिरोह सक्रिय छ’ निमित्त प्रहरी प्रमुख खड्काले भन्नुभयो ‘यसबारे हामीले गहिरो अनुसन्धान गरिरहेका छौ ।’
गत मंगलबार मात्रै लागूऔषध सहित तीन युवकलाई प्रहरीले बागलुङ–पर्वत सीमास्थल मालढुङ्गाबाट पक्रेको थियो । ति मध्ये एक युवक बागलुङ नगरपालिका–३ बस्ने सुनिल पुन प्रहरीलाई छलेर भाग्ने क्रममा कालिगण्डकी नदीमा बेपत्ता छन् । बागलुङबाट ट्याक्सीमा पर्वतको कुश्मा जाँदै गरेका बा.न.पा.–१ का २८ वर्षीय दिपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुरका २४ वर्षीय भिमसेन लामा प्रहरीको नियन्त्रणमा छन् ।
उनीहरुको साथबाट लुकाईछिपाई राखेको लागूऔषध डाइजेपाम ३ , नुर्फिन ३, फेनार्गन ४ एम्पुल, नाइट्राजेपाम ३ थान र ४ थान सुई प्रहरीले बरामद गरेको थियो । उनीहरुकै नियन्त्रणमा लिएको मोवाइलमा देखिएको सन्देशबाट हरिजनलाई पक्राउ गर्न सफल भएको अनुसन्धानमा सम्लग्न प्रहरी निरिक्षक दामोदर भट्टराइले बताउनुभयो ।
प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका पुनको खोजी गर्न माग गर्दै उनका परिवार र आफन्तजन आन्दोलित भएका छन् । घटनाको विरोधमा उनीहरुले आज बागलुङ बन्द आव्हान गरेका थिए । बन्दका कारण दिनभर ठप्प बनेको यातायात, बजार साँझ ५ बजेपछि भने सामान्य तर्फ उन्मुख छ । प्रहरीले बेपत्ता युवक पुनको खोजी कार्य चलिरहेको जनाएको छ ।









