
बागलुङ, २५ जेठ
प्रहरीले पक्राउ गर्न खोज्दा भाग्ने क्रममा कालीगण्डकी नदिमा बेपत्ता भएका बागलुङका एक युवक अझै फेला परेका छैनन् ।
काठेखोला गाउँपालिका–८ कादेश घर भई हाल बागलुङ नगरपालिका–३ देउराली चोक बस्ने सुनिल पुन प्रहरीलाई छलेर भाग्ने क्रममा मंगलवार साँझ कालिगण्डकी नदीमा बेपत्ता हुनुभएको थियो ।
बेपत्ता भएको दुई दिन बित्दा समेत उनको अवस्था पत्ता लाग्न सकेको छैन । उनको खोजीका लागि सशस्त्र प्रहरी, स्थानीय युवाहरुको टोली परिचालन गरिएको छ ।
स्थानीय युवा र चेकपोष्टमा लागु औषधका सामग्री समेत भेट्न साथ ट्याक्सीबाट निक्लिएका पुन शौचालय जाने भन्दै नदि छेउ तिर भागेको र आत्तिएर नदिमा हाम फालेको हुन सक्ने प्रहरी दावी छ ।
प्रहरीले बिहिवार पत्रकार सम्मेलन गर्दै गाडीमा लागु औषध भेटिए पछि बेपत्ता भएका पुन भागेको र तर अन्य दुई युवा ट्याक्सी चालक भिमसेन लामा र बानपा २ का दिपेन्द्र कार्की नियन्त्रणमै भएकाले पिछा नगरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त प्रहरी प्रमुख अनिल खड्काले बताउनुभयो ।
तर, बेपत्ता हुनुमा प्रहरी मुख्य कारक भएको भन्दै पुनका आफन्त आन्दोलित भएका छन् । पुनलाई भाग्ने क्रममा प्रहरी र म्यादी प्रहरीले पछ्याएर घेरा बन्दिमा पारे पछि नदिमा हाम फाल्न बाध्य बनाएको र पौडिएर नदी छेउ पुग्दा समेत प्रहरीले संवेदनशिलता देखाउन नसक्दा पुन बेपत्ता भएको आफन्तको आरोप छ ।
बेपत्ता पुनका आफन्तजनले पनि संघर्ष समिति गठन गरेर बिहिवार नै पत्रकार सम्मेलन गरेर पुनको उद्धार तथा खोजीलाई प्रभावकारी बनाउन माग गरेका छन् । घटनामा सम्लग्न प्रहरीलाई आवश्यक अनुसन्धान गरी कारवाही गर्नुपर्ने संघर्ष समितिका नरेश कंडेलले बताउनुभयो । यदी समितिको माग सुनुवाइ नभए बन्द लगायतका संघर्षका कार्यक्रमलाई निरन्तरता दिने समेत उनीहरुले चेतावनी दिएका छन् ।
नदिमा हाम फाल्न बाध्य पारेको र हाम फाले पछि पनि उद्धार तथा खोजीका लागी प्रहरी प्रशासनले कुनै प्रयास र पहल नगरको भन्दै बेपत्ता पुनका आफन्त र शुभेच्छुकहरुले बिहिवार बागलुङ बन्द समेत आव्हान गरेका थिए ।
आकस्मिक रुपमा बन्द आव्हान गरिए पनि बजार पसल ठप्प भए भने भने बिभिन्न स्थानमा जाने र बजार भित्रिने सवारी साधन र यात्रुहरु बिचमै अलपत्र परेका थिए । बन्दका क्रममा समिक्षालय चोकको केवी मासु पसलमा बन्दकर्ताले तोडफोड समेत गरेका थिए । साथै पसलका सञ्चालक केवी भण्डारीलाई हातपात समेत गरिएको भन्दै बागलुङ उद्योग बाणिज्य सघंको एक टोलीले तत्काल कार्यालय पुगेर प्रहरीको समेत ध्यानाकर्षण गराएको थियो ।
यसैबीच, जिल्लामा क्रियाशिल विभिन्न मानव अधिकारवादी संघ संस्थाले उक्त घटना प्रति गम्भिर ध्यानकर्षण भएको जनाएका छन ।
बागलुङ उच्च अदालत बार एशोसिएसनका अध्यष केशवराज पराजुली, नागरिक सामाजका अध्यक्ष काजीगाउँले श्रेष्ठ, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष भूमिश्वर गौतम र शान्तिका लागि मानव अधिकार कर्मीको साझा सजालका अध्यक्ष राम शर्माले संयुक्त रुपमा विज्ञाप्ती प्रकाशन गरी घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न माग गर्नुभएको छ ।
प्रहरी नियन्त्रणमा भएका युवा सोधपुछकै क्रममा कालीगण्डकी नदीमा हामफाल्दा प्रहरीले कुनै किसिमको उद्धार कार्य नगरी उद्धार गर्नुको सट्टा उद्धारकर्तालाई समेत निस्कृय बनाएको भन्ने आफन्तको भनाई देखिएकाले विधिको शासन र मानव अधिकार र नागरिकको सुरक्षाको प्रत्याभूतिमाथि गम्भिर आघात पुगको विज्ञप्तीमा उल्लेख गरिएको छ ।










