नदीमा युवक बेपत्ता, खोजी नगरेको भन्दै आफ्न्तद्वारा बागलुङ बजार बन्द

बिहीबार विहान (आज) बजार बन्दको आव्हान गर्दै हिड्का पुनका आफ्न्त तथा स्थानीयहरु । तस्विरः खबरवे अनलाईन ।

बागलुङ, २५ जेठ
लागू पदार्थ ओसारपसारको आशंकामा चेकजाँच गर्ने क्रममा मंगलवार साँझ ट्याक्सीबाट झरेर भागेका एक युवक कालीगण्डकी नदीमा वेपत्ता भएका छन् ।
बानपा १ स्थित मालढुंगामा ध १ ज ४१४ नम्बरको ट्याक्सीमा आएका काठेखोला ८ घर भई बानपा ३ देउराली चोक बस्ने १९ बर्षका सुनिल पुन बेपत्ता भएका हुन् । उनलाई पक्राउ गर्ने क्रममा भागेको प्रहरी भनाई छ । तर उनी भागेपछि प्रहरीले भने ढुंगा प्रहार गरेर नदीमा हेलिन बाध्य बनाएको स्थानीयले आरोप लगाएका छन् ।
पुनका आफ्न्तले नदिबाट निस्कान खोज्दा प्रहरीले ढुंगा प्रहार गरेर नदिमा होलिन बाध्य बनाएको र अजैसम्म पनि खोजतलास नगरको भन्दै बिहीबार विहानदेखि अनिश्चित कालको लागि बजार बन्दको आव्हान गरेका छन् । पुनका आफन्त तथा स्थानीयहरुले बिहान ८ बजेदेखि माईकिङ्ग गर्दै बजार बन्द गर्दै हिडेका छन् ।

उनी केही बेर नदीको बिचमा ढुंगामा देखिएको र केही समय पछि फेरी प्रहरी देखेपछि नदीमा पसेको आफन्त र स्थानीयले बताए । उनी बेपत्ता भएपछि आफन्तले बुधवार दिनभरी मालढुंगामा प्रर्दशन गरेर दोषिलाई कारवाही गर्नुपर्ने, पुनको खोजी गर्नुपर्ने माग राखेका थिए । प्रदर्शनका कारण बागलुङ देखि छुट्ने लामो तथा छोटो दुरीका सबै सवारी साधन प्रभावित भएका थिए । सवारी नचल्दा सयौंले सास्ती खेप्न बाध्य समेत भएका थिए ।
ट्याक्सीको चेकजाँच गर्ने क्रममा गियरको डण्डीनेर लुकाई छिपाई राखेको डाईजेपाम ३, नुर्फिन ३, फेनारगन ४ एम्पुल र नाईट्राजेपान ट्याब्लेट ३ थान बरामत गरेको प्रहरीले बतायो । ट्याक्सीमा सवार ३ जना मध्ये २८ वर्षिय दिपेन्द्रभरत कार्की, चालक हेटौडाका २४ बर्षिय भिमसेन लामा लाई प्रहरीले पक्राउ गरेको छ ।
राती प्रहरीको नियन्त्रणबाट भाग्दै कालीगण्डकीमा हाम फालेका उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले बताए । खड्काले बिहीबार (आज) गोताखोर मगाएर खोजी गरिने बताए ।