जिल्ला लिग फुटबलमा चिल्ड्रेन, रुद्रेपिपल र फ्युचरको विजयी सुरुवात

बागलुङ, २३ जेठ
बागलुङ जिल्ला लिग फुटबलको पहिलो दिन मंगलबार चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब, रुद्रेपिपल युवा क्लब र फ्युचर ब्राईटर स्पोर्टस् क्बल क्लब विजयी भएका छन् । उद्घाटन खेलमा चिल्ड्रेन लाइफले बागलुङ खेलकुद क्लबलाई ३–० ले, रुद्रेपिपलले युनिटी युथ क्लबलाई २–० र फ्युचर ब्राईटर स्पोर्टस् क्लबले मुलपानी खेलकुद विकास समितिलाई २–१ ले हराएका छन् ।
२१ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै गणेश लामिछानेले चिल्ड्रेन लाइफलाई अग्रता दिलाएका थिए । कमजोर रक्षापक्तिको फाइदा उठाउँदै रञ्जित थापाले २४ औं मिनेटमा टोलीका लागि दोस्रो गोल गरे । दोस्रो हाफको १६ औं मिनेटमा सरोज थापाले गोल गरेपछि टोलीको जित सहज बन्यो ।


अर्को खेलको २४ औं मिनेटमा रोशन केसीले पेनाल्टी गोलमार्फत रुद्रेपिपललाई अग्रता दिलाएका थिए । त्यसो ५ मिनेटपछि गणेश विसीले २९ औं मिनेटमा गरेका थिए ।
यस्तै समुह ‘बि’ पहिलो खेलमा फ्युचरले विजयी सूरुवात गरेको छ । निकै प्रतिस्पर्धात्मक भएको खेलको १३ औं मिनेटमा नै मनोज गौतमको गोलबाट मुलपानीले अग्रता लिएपनि आफ्नो अग्रता जोगाउन दोस्रो हापमा जोगाउन सकेन ।
फ्युचरले दोस्रो हापको ८ मिनेटमा नै प्रमल थापाको गोलबाट खेल बराबरी गरेको थियोभने १० औं मिनेटमा रोशन लामिछानेले गोल गर्दै टिमलाई जित दिलाएका थिए ।
प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका नवनिर्वाचित मेयर जनकराज पौडेले गरेका थिए ।
उद्घाटन पछि बोल्दै मेयर पौडेलले बागलुङ नगरपालिका भित्र खेलकुदलाई प्राथमिकता दिई नगरलाई खेलकुद मैत्री बनाईने बताएका थिए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्ष प्रतियोगिताका संयोजक टक बहादुर बोहोरा र संचालन सदस्य रेशम गोतामेले गरेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को बार्षिक कार्यक्र अनुसार बागलुङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिता जेठ २९ गते सम्म चल्ने जिल्ला संघका महासचिव जय राजभण्डारीले जानकारी दिए ।
लिग विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले २–२ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उच्च गोलकर्ताले समान १ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ ।
जिल्ला लिगमा भोली पहिलो खेल समूह ‘बि’मा रसआवर फुटसल र पावर फिटनेस क्लब, समुह ‘ए’ मा बागलुङ खेलकुद क्लब र रुद्रेपिपल तथा चिल्ड्रेन लाइफ र युनिटि युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।