
बागलुङ, २० जेठ
धौलागिरी अञ्चल सदरमुकाम बागलुङमा कविता कन्सर्ट गरिएको छ । म्याग्दी साहित्य सञ्चार र धौलागिरि कला तथा साहित्य मञ्च बागलुङले छन्दकवि सुदेश सत्यालको सम्मानमा आयोजना गरेको कविता कन्सर्टको बागलुङ नगरपालिकाका मेयर जनक पौडेलले उद्घाटन गर्नुभयो । उहाँले कवि सत्यालको छन्द कविता बाचन गरेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन पछि बोल्दै मेयर पौडेलले कवि सत्यालले हृदय र मस्तिष्कको उच्चतम प्रयोग गर्न सफल भएको बताउनुभयो । आफु पनि साहित्यप्रेमी मान्छे भएको स्मरण गर्दै पौडेलले पहिले पहिले केही लेख्ने गरेको र कला साहित्यको उन्नयनका लागि नगरपालिकाको तर्फबाट सहहयोग, सहकार्य गरेर भुमिका खेल्न सकरात्मक रहेको बताउनुभयो ।
आदिकवी भानुभक्त आचार्यको जन्मस्थल तनहुँमा जन्मिएका कवि सत्यालले कार्यक्रममा सात कविता र एक गजल बाचन गर्नुभयो । उहाँलाई कवितामा पोखराका सुरज बस्नेतले बाँसुरी, समिर लामिछानेले हारमोनियम, पुरुषोत्तम लम्सालले तवलामा साथ दिनुभएको थियो ।
बागलुङ, पर्वत र म्याग्दीका साहित्यप्रेमीहरुको उपस्थितिका खचाखच भरिएको उद्योग बाणिज्य सघंको हलमा कवि सत्यालले सबै भन्दा बढी ‘ताली नमानु अब,’ नेपाल बन्द छ र फर्केर आउ घर शिर्षकको कविता बाचन गर्दा गडगडाहट ताली र साथ पाउनु भएको यो । यसका साथै महिला हिसां, दार्जिलिङ माथि एउटा कविता, भूकम्प र चमत्कार शिर्षकको कविता बाचन गरेका उहाले कार्यक्रमको अन्त्यमा कविता बिधा भित्रै पर्ने प्रेम प्रणय सम्वन्धि गजल बाचन गरेर दर्शक सर्जकको मन जित्नुभएको थियो । गायन र बाद्यवादन सहितको यो गजलले साहित्यिक माहोल थप सांगितिक बनेको थियो । कार्यक्रममा पहिलो पटक बागलुङ आएका कवि सत्यालले धौलागिरिका सर्जक साहित्यप्रेमीको कविता प्रतिको आकर्षण र कार्यक्रमको साथ देखेर निकै उत्साहित भएको प्रतिक्रिया दिनुभयो ।
कविता कन्सर्टबाट संकलित रकम मध्ये बचत भएको ५ हजार रुपैयाँ बागलुङ बजारको मानव सेवा आश्रमलाई सोही कार्यक्रमका अवसरमा प्रदान गरिएको थियो । युवा पुस्तामा छन्द कविता प्रतिको आकर्षण बढाउन र सिर्जनाको मूल्य स्थापित गर्न कविता कन्सर्ट आयोजना गरिएको आयोजक म्याग्दी साहित्य सञ्चारका अध्यक्ष लोकनाथ भुषाल ‘घायल श्री’ले बताउनुभयो ।
कार्यक्रममा म्याग्दी साहित्य समाजका अध्यक्ष धुव्रलाल शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष तथा सर्जक दिल शिरीष र पर्वतका बुलबुल साहित्य पत्रिकाका प्रधान सम्पादक चन्द्रबहादुर लामिछानेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम म्याग्दी साहित्य सञ्चारका अध्यक्ष घायल श्रीको अध्यक्षता, उपाध्यक्ष सन्दिप खत्रीको स्वागत र सचिव एसपी बिसर्जनको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा धौलागिरीका तिन जिल्ला बागलुङ, म्याग्दी र पर्वतका एक सय बढी अग्रज र नयाँ पुस्ताका सर्जकको उपस्थिति रहेको थियो ।









