
१२ जेठ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को खर्च सदस्य राष्ट्रहरुले नतिरेकोमा प्रत्यक्ष असन्तुष्टि व्यक्त गरेका छन् । ब्रसेल्समा नेटो सदस्य राष्ट्रका नेताहरुलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो भागमा परेको पैसा ती राष्ट्रले तिर्नैपर्ने बताउनुभयो ।
‘आफ्नो प्रतिरक्षाका लागि जति पैसा तिर्नुपर्ने हो, २८ मध्ये २३ राष्ट्रले अझै तिरेका छैनन्,’ ट्रम्पले भन्नुभयो, ‘यो अमेरिकी जनता र करदाताका लागि ठीक कुरा भएन ।’
‘गठबन्धनका सदस्यहरुले आफ्नो हिस्साको वित्तीय जिम्मेवारी पूरा गर्नैपर्छ,’ ट्रम्पले थपे । ट्रम्पले यसो भन्दैगर्दा नेटो राष्ट्रका राष्ट्रप्रमुखहरुले असहजता महसुस गरेको बताइएको छ ।
नेटोको एक अर्ब डलरभन्दा बढी मूल्यको नयाँ भवनबारे पनि ट्रम्पले व्यंग्य गरेका थिए ।
आफ्नो पहिलो नेटो शिखर वार्तामा ट्रम्प सामूहिक फोटो खिचाउने क्रममा मोन्टेनेग्रोका प्रधानमन्त्री डस्को मार्कोभिचलाई धकेल्दै गरेको देखिएका थिए । एजेन्सी









