कुस्मा नगरपालिकामा काँग्रेस, फलेवासमा एमालेको अग्रता, ३ वडामा एमालेको प्यानल बिजयी

पर्वत, १ जेठ
पर्वतमा स्थानीय तहको निर्वाचनको मतगणनाको क्रम जारी रहेको छ । दुई नगरपालिका र ५ गाउँपालिका रहेको पर्वतका सवै तहमा मत गणनाको क्रम जारी रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार कुस्मा नगरपालिकाको मेयरमा काँग्रेसले अग्रता कायम गरेको छ भने फलेवास नगरपालिकामा एमालेले अग्रता लिएको छ ।
पछिल्लो परिणाम अनुसार हालसम गणना भएका ३ सय ७६ मत मध्ये मेयरमा नेपाली काँग्रेसका रामचन्द्र जोशीले २ सय ८ मत प्राप्त गर्नुभएको छ भने एमालेका मेघनाथ सुबेदीले १ सय ७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उप मेयर पदमा नेपाली काँग्रेसका सीता काफ्ले लामिछानेले १ सय ९८ मत र एमालेका मुवा कुमारी पोखरेलले १ सय ८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै फलेवास नगरपालिकाको मेयरमा एमालेका पदमपाणी शर्माले ६ सय ८ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका गंगाधर तिवारीले ३ सय ८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उप मेयर पदमा एमालेका मन्जु अधिकारीले ५ सय १२ मत र काँग्रेसका रेखा गुरुङले ३ सय ७७ मत प्राप्त गर्नुभएको छ ।
फलेवास नगरपालिकाका दुईवटा वडामा नेकपा एमालेका उम्मेदवारहरुले प्यानल सहित बिजयी भएका छन् । जसमा वडा नं. १ को कार्कीनेटामा बाबुराम शर्माको प्यानल बिजयी भएको छ भने वडा नं. २ को थापाठानामा गंगा नारायण श्रेष्ठको प्यानल बिजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै गरि जिल्लाको महाहिला गाउँपालिकाको वडा नं. १ होश्राङ्दीमा पनि एमालेको तर्फबाट ईश्वरी प्रसाद भुसालको प्यानल बिजयी भएको कार्यालयले जानकारी दिएको छ ।