चियर्स ! म आज भट्टिमा छु !

मलाई लेख्नु छ ,
बोट बाट चुडिएको विधुवा फुल सुम्सुमाइरहेकी,
मेरि काकिको
खडेरी परेको सिँउदोको कथा !

मलाई लेख्नु छ,
एक सरो आङ ढाक्न,
कयौं रात आफ्नो जांङ नङ्गाउने
मेरो फुपूदिदिको कथा !

मलाई लेख्नु छ,
भयानक भोकमा लालसलाम चपाउँदै
भोकाहा जङ्गल छिरेका
भैरेको कथा !

मलाई लेख्नु छ,
कर्कलाको पातमा अड्किएको पानीको बीभत्स रुप जस्तै,
छ भन्न नपाँउदै छैन भैसकेको,
भोको फुटपाथ र रित्तो खल्तिको कथा !

मलाई लेख्नु छ,
भोकाएको नदिले खर्लप्पै खाएको
सुकुम्बासी गाउँको कथा !

मलाई लेख्नु छ,
पहाडको थुम्कामा बसि
हुक्का तानिरहेको आकाशको कथा !

मलाई लेख्नु छ,
दिलको छायाँमुनी ओझेल परेर धड्किरहेका
दुई थान मुटुको कथाहरु !

अहँ, सक्दिन !
कथा त एकादेशबाट सुरु हुन्छ हैन र ?

सक्छु त बस् !

चुरोटको धुवाँले
फोक्सोमा
जिन्दगीजस्तै कुरुप पेन्टिङ कोर्न !

रक्सिको प्यालाले
कलेजोमा
केइ थान शरणार्थी कोलाज बनाउन !

उफ्फ ! म पनि !
अक्षरहरुसँग भोलि देखि
अक्षरयात्रामा पो निस्कनु छ त !!

र, यो अन्तिम प्याक
अक्षरहरुको नाम !

चियर्स !!

राजु झल्लु प्रसाद