
बागलुङ, २० बैशाख
नेकपा एमालेबाट बागलुङ नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका जनक पौडेलले आफुले मेयर पदमा जितेमा ५ वर्षमा बागलुङ नगरलाई धार्मिक नगरको रुपमा विकास गर्ने बताउनु भएको छ ।
नगर निर्वाचन परिचालन कमिटिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले उक्त कुरा बताएका हुन । उनले बागलुङ नगरको कालिका भगवति मन्दिर, पञ्चकोट र भैरवस्थान मन्दिरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार गरी बागलुङ नगरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताउनुभएको हो ।
पौडेलले बागलुङ नगरलाई चिन र भारतलाई जोड्ने कालिगण्डकी कोरिडोर तथा देशको गौरवको रुपमा हेरिएको मध्यपहाडी लोकमार्गले छुने बताउँदै उक्त बाटो हुँदै पर्यटकहरुलाई बजारमा प्रवेश गराउनको लागि बजारमा सिटी हल तथा पर्यटकीय स्थल गराउने बताउनुभयो ।
पौडेलले आफुले नगरमा अहिले रहेको प्रमुख समस्या ढल निकासी, सडक र विभिन्न सार्वजनिक भवनहरुको अवस्थालाई पहिलो प्राथमिकता दिँदै पहिलो काम पुर्वाधारलाई दिने बताउनुभयो ।
बागलुङ नगरलाई सुन्दर, शान्त र आकर्षणको केन्द्र गराउँनको लागि नगरभित्र प्रविधिका नयाँ नयाँ प्रयोग गर्ने, वाईफाईको व्यवस्था गर्ने, सिटी हलको व्यवस्था गर्ने, खेलकुदको लागि रंगशालाको व्यवस्था गरिने पौडेलले जानकारी दिनुभयो ।
पौडेलले नगरपालिका भित्रका बासिन्दाहरुको आयस्तरलाई ५ वर्षभित्र दोब्बर गराउँने बताउनुभयो । साथै पौडेलले नगरपालिका भित्र रहेका दलित, महिला, बेरोजगार युवाहरुको समस्याको समाधानको लागि कार्ययोजना गराएको बताएका थिए । उनले नगरपालिका भित्र रहेका पिछडिएका नागरिकहरुलाई पहुँचमा पु¥याउने बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा, बागलुङ नगरपालिकामा उपमेयरका उम्मेदवार सुरेन्द्र खड्का र राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य लक्ष्मी बाँस्कोटाले बोल्नुभएको थियो ।
नगर निर्वाचन परिचालन कमिटिका संयोजक गोविन्द गौतमको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनको संचालन नेकपा एमाले बागलुङका प्रचार प्रसार विभागका संयोजक धन बहादुर परियारले गर्नुभएको थियो ।
बागलुङ नगरपालिकामा एमाले, राष्ट्रिय जनमोर्चा र राप्रपाले चुनाव तालमेल गरेर उम्मेदवारी दर्ता गराएका छन् ।









