
बागलुङ, १९ बैशाख
अध्ययन तथा व्यापार व्यवसाय र रोजगारीका लागि जापानको ओशाका पुगेका बागलुङेहरुको पलहमा धौलागिरी अञ्चल अस्पताल बागलुङमा पूर्ण स्वचालित रक्त परिक्षण यन्त्र (अटोमेटेड ऐनलाईजर मेसिन) प्रदान गरिएको छ ।
एनआरएन ओशाका जापानले सोमबार एक कार्यक्रमको आयोजना गरी ११ लाख रुपैयाँ बराबरको मेसिन अञ्चल अस्पताललाई हस्तान्तरण गरेको हो ।
रगत परीक्षणका आवश्यक पर्ने उक्त मेसिनले प्रति घण्टा एक सय ५० प्रकारका रोगबारे परिक्षण रिपोर्ट तयार गर्न सक्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.सागर राजभण्डारीले बताउनुभयो ।
मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै एनआरएन जापानका उपाध्यक्ष टंक गैरेले नेपालीहरु जहाँ जून ठाउँमा रहे पनि जन्मभूमिप्रतिको माया सधैं रहिरहने भन्दै जन्मभूमि प्रतिको कर्तव्य पूरा गर्न अञ्चल अस्पताललाई सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले विदेशमा गएका नेपालीहरुको सहयोगी भावनाले नेपालमा विभीन्न क्षेत्रको विकास भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै धौलागिरी अञ्चल अस्पताल बागलुङका विकास समिति अध्यक्ष मञ्जेशबम मल्ल र मेडिकल सुपरीटेण्डेन्ट डा. सागर राजभण्डारीले एनआरएनको सहयोगले धौलागिरी अञ्चल अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका अवसरमा हाँस्य कलाकार ज्योति काफ्ले हाँस्यव्यङ्ग्य र कलाकार सीता केसीले साङ्गीतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।
एनआरएन ओशाकाका अध्यक्ष टिकाराम कँडेलेको अध्यक्षतामा सम्पन्न कार्यक्रम बिहुँकोट समाज जापानका महासचिव कृष्ण सुवेदीले स्वागत र कलाकार गणेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।









