स्थानीय तहको निर्वाचन स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा हुन्छः निर्वाचन अधिकृत बेलबासे

बगलुङ, १६ बैशाख
बागलुङका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले यहि बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय मतदाता अधिकार मञ्च बागलुङको आयोजनामा भएको मतदाता प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।
मञ्चका जिल्ला शाखाका पदाधिकारीहरु र सरोकारवाला निकायका प्रमुख एवं प्रनिनीधिको लागि उक्त प्रशिक्षण दिइएको बताइएको छ । बेलबासेले जनताको सार्वभौमिकता एवं गणतन्त्र स्थापना गर्नका लागि निर्वाचनको महत्व अपरिहार्य रहेको भन्दै मतदाता सजग रहनुपर्ने बताउनुभयो ।
कानुन स्वच्छ, निष्पक्ष, न्यायिक र तर्कसंगत हुनुपर्ने बताउदैँ जनताका प्रतिनीधिहरुले मात्र यस्तो खालको कानुन निर्माण गर्न सक्ने धारणा राख्नुभयो । प्रशिक्षण कार्यक्रममा मञ्चका सल्लाहकार राम शर्मा, अध्यक्ष कृष्णराज शर्मा र सदस्य हरि सुवेदीले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङ, निर्वाचन अधिकारी बिकासचन्द्र शर्मा, ताराखोला गाउँपालिकाका निर्वाचन अधिकृत देविप्रसाद सुवेदी, समाजसेवी देबबहादुर श्रेष्ठ, न्यायका लागि द्धन्द्ध पीडित समाजका अध्यक्ष बद्रिबहादुर केसी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतम, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम मञ्चका अध्यक्ष कृष्णराज शर्माको अध्यक्षता, उपाध्यक्ष कोपिला कँडेलको स्वागत मन्तव्य र सचिव रामप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा २० जनाले सहभागिता जनाएका थिए ।