बागलुङ, १३ वैशाख
नियम विपरित बढाएको शुल्क फिर्ता नलिएको भन्दै संयुक्त विद्यार्थी संगठनले बुधबार बागलुङका १८ वटा निजी विद्यालयको लेखा तथा प्रशासन शाखामा तालावन्दी गरेका छन् ।
सरकारले तोकेको भन्दा धेरै शुल्क लिएको र सर्वोच्च अदालतको आदेश विपरित शुल्क बढाएको भन्दै सबै ठूला दल निकट विद्यार्थी एकजुट भएर तालाबन्दी गरेका हुन् ।
मंगलबार जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए । लेखा र प्रशासनमा तालाबन्दी गरेपनि पठनपाठन भने नरोकिने अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङले जानकारी दिनुभयो ।
नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ, नयाँ शक्ति विद्यार्थी युनियनको सयुक्त पहलमा तालाबन्दी गरिएको हो ।
विद्यार्थी संगठनको मागको विषयमा गम्भिर छलफल गर्ने निजी विद्यालय संचालकहरु तयार नभए सम्म तालाबन्दी नखोल्ने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बागलुङका सचिव शिव शर्माले जानकारी दिनुभयो ।
विद्यार्थी संगठनले विहिबार प्याब्सन र एनप्याब्सको कार्यालयमा तालाबन्दी गर्ने बताइएको छ ।









