
क बाट कछुवा,
ख बाट खरायो,
ग बाट गमला,
र
घ बाट घर पढदै गरेको
मेरो छोराले
आँगनमा छरिएका
इट्टाको थुप्रो
चाल्दा चाल्दै छोडेको बालुवा,
पुराना काठका दार
पुरानै टिनका पाता
र
केही थान फलामका छडहरुलाई देखाउदै भन्यो
बा,
यस्तै यस्तै सामाग्रीले बनेको
त्यो हाम्रो पुरानो घरलाई त
एकै झड्काले तहस नहस पारीदियो
अनि
न तपाईं एक्लैले उठाउन सक्नु भो त्यो घरलाई
न त हामीलाई दुख पर्दा हेरैंला भनेर
वाचा गरेकाहरुले फर्किएर हेरे
बा,
यी फलाम, ढुङ्गा, इट्टा, काठपात र टिनको घर होइन
बरु हामीले पनि बनाउँ
एउटा त्रिपालको घर
यदि फेरी कुनै बिपत्तीले ढलाईदिए पनि
कोही आउछ कि भनेर
बस्नुपर्ने छैन मूलबाटोमा आँखा बिछ्याएर
आस गर्नु पर्ने छैन कसैको
उठाउन हाम्रो लडेको घर
किनकी,
बा,
त्रिपालको घर त
हामी आफैले उठाउन सक्छौ ।
©सोतन्त्र नेपाल









