
मुस्ताङ, ९ वैशाख/ जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । शनिबार बिहान मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि छुटेको ना ५ ख ६०६७ नम्बरको बस कागबेनीभन्दा २ किलोमिटर अघि दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमै मृत्यु भएकाहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । घटनाको खबर पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली उद्दारका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरिक्षक हरिहर योगीले जानकारी दिनुभयो ।
२६ जना सवार बसमा अन्य सामान्य घाईते भएको बताईएको छ । “घाइतेहरु सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याईदैछ, दुर्घटनास्थलमा डोजरको सहायताले बस र शब उठाउने काम भईरहेको छ”, उहाँले भन्नुभयो ।









