जन्मकैदका फरार अभियुक्तसँग नक्कली नागरिकता, १३ बर्षपछि जेल चलान

सन्तोष थापा
पर्वत, २७ चैत
करिव १३ बर्ष अगाडी कर्तव्य ज्यानको अभियोगमा जन्म कैद सजाय सुनाइएका अभियुक्तले नेपाली नागरिकताको नक्कली प्रमाणपत्र लिएको पाइएको छ । पर्वतको विहादी गाउँपालिका ५ उरामपोखराका लिटल थापाले सजायबाट जोगिनका लागि अदालतले सजाय सुनाइएपछि जिल्ला प्रशासन कार्यालय पर्वतबाट नक्कली कागजात पेश गरेर नाम परिवर्तन गरी नक्कली नागरिकता लिएको पाइएको हो ।
२९ बर्षिय लिटल थापालाई २०६० जेठ ४ गते बेउलीवासका रोशन रानालाई धारिलो हतियार प्रयोग गरी ज्यान लिएको अभियोगमा पर्वत जिल्ला अदालतले २०६७ माघ १ गते जन्म कैद सजाय सुनाएको थियो । सोही बर्ष नै थापाले नक्कली नाम प्रयोग गरी जिल्ला प्रशासन कार्यालयबाट मानसिंङ थापाको नाममा नक्कली नेपाली नागरिकता प्रमाणपत्र लिएको प्रहरी अनुसन्धानबाट पाइएको हो ।
ईलाका प्रहरी कार्यालय हुवासले थापालाई सुराकीका आधारमा १३ बर्षपछि पक्राउ गरेर पर्वत जिल्ला अदालतमा बुझाएको छ । इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरिक्षक देवीप्रसाद पौडेलको विशेष टोलिले गत बुधबार विशेष सुराकीको आधारमा प्रक्राउ गरी पर्वत जिल्ला अदालतमा पेश गरेको हो । आफ्नै घरमा लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका थापालाई प्रहरीले अदालतमा बुझाई अदालतद्वारा पर्वत कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक लिलाराज लामिछानेले बताउनुभयो ।
अभियुक्त थापा सहित साविकको वेउलिवास गा.वि.स. वडा नं ३ वस्ने दिल प्रताप सेन, लक्ष्मण सेन, राम बहादुर पुलामी, रेशम बहादुर थापा, दिप सानु थापा र लिटल थापा समेत ६ जनालाई अदालतले जन्मकैदको फैसला गरेको थियो । भलिवल खेलको हारजितको सामान्य विषयलाई लिई धारिलो हतियार प्रयोग गरी बेउलीबासका रोशन रानाको मृत्यु भएको थियो ।
थापाले सोधपुछका क्रममा सजायबाट बच्नकै लागि नक्कली नाम प्रयोग गरी नागरिकता लिएको र उक्त घटनामा आफु संलग्न रहेको कुरा स्वीकार गरेपछि अदालतमार्फत कारागार चलान गरिएको प्रहरी निरिक्षक लामिछानेले जानकारी दिनुभयो ।