बागलुङबाट चरन खोज्दै प्यूठान

गिरुप्रसाद भण्डारी
प्यूठान, २७ चैत
भेडाबाख्राको चरन खोज्दै बागलुङ, बोबाङ–९ का गोठाला प्यूठानको अर्खास्थित लेकाली भेगसम्म आइपुगेका छन् । त्यहाँको चरन क्षेत्रमा हिउँ पर्न थालेपछि उनीहरू न्यानो खोज्दै यता आएका हुन् ।

पुनबहादुर, नीलबहादुर र मकबहादुर अधिकारीले अर्खा–६ स्थित गुल्मी र प्यूठानको सीमा मदाने लेकको जंगलमा भेडाबाख्रा चराउन ल्याएका छन् । हिउँ छल्न रजवारा, आर्खास्थित सानीरठूली नाङगी लेक चहार्दै मदानेको जंगल आइपुगेको पुनबहादुरले बताए । उनको ७ जनाको परिवार यही पेसामै आश्रित छ । ५५ वर्षीय पुन १८ वर्षकै उमेरदेखि फिरन्ते जीवन बाँच्दै आएका छन् ।

हिउँदभन्दा वर्षामा जीवन कष्टकर हुने उनले सुनाए । ‘चरनको खोजीमा भेडाबाख्रा जता लगिन्छ, उतै घुम्ती गोठ बनाएर बस्नुपर्छ,’ उनले भने, ‘वर्षामा पाठापाठी हुर्काउन बढी समस्या हुन्छ ।’ भेडाबाख्रा पालनबाट उनले वार्षिक ३ लाख कमाउँछन् । ‘अरू केही गर्ने सीप छैन,’ उनले भने, ‘अब त गोठाले जुनीबेगर अरू सोच्न पनि सक्दिनँ ।’ उनीहरूले भेडाबाख्रा चराउन ल्याएबापत स्थानीयलाई भूमैपूजाका लागि एउटा बोका र ८ हजार रुपैयाँ बुझाएका छन् । ‘३ जनाको झन्डै ६ सयभन्दा बढी भेडाबाख्रा छन्,’ नीलबहादुरले भने, ‘यो सिजनमा सधैं आउँछौं ।’ यहाँ पोसिलो घाँस भएकाले भेडाबाख्रा निकै मोटा हुने बताए ।

मंसिरदेखि उताको चरन क्षेत्र हिउँले ढाक्छ । अर्खा आइपुगेको ३ महिनाभन्दा बढी भएको नीलबहादुरले बताए । उनले बागलुङको ढोरपाटन क्षेत्रको लेकाली भेगमा वैशाख दोस्रो सातासम्म फर्केर रुकुमका गोठालाहरूसँग भेडा मिसाएर चराउने बताए । जंगली जनावरबाट भेडाबाख्रा जोगाउन लंके, काजी, हिमचुली र चखी नामका ४ भोटे कुकुर पालेका छन् । ‘कुकुरले जंगली जनावरबाट जोगाउन मद्दत गरेका छन्,’ मकबहादुरले भने । उनले दिनहुँ चितुवाको मुखबाट भेडाबाख्रा जोगिने गरेको सुनाए । बिहान ८ बजे २ जनाले जंगलमा भेडाबाख्रा चराउन लैजान्छन् भने एक जनाले खाना पकाउँछन् । ‘बिहानको ११ बजे बासस्थानमा फर्किएर खाना खान्छौं,’ उनले भने ।

कान्तिपुर पत्रिकाबाट ।