
बागलुङ, २० चैत
नयाँ शक्ति पार्टी नेपाल बागलुङले आईतबार निर्वाचन कार्यालय बागलुङमा धर्ना दिएको छ । निर्वाचन आयोगले नयाँ दर्ता भएका राजनीतिक दललाई स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह दिने भनेपछि नयाँ शक्रि पार्टी नेपालले घोषणा गरेको धर्ना अभियान अन्तरगत बागलुङमा पनि धर्ना दिइएको हो ।
धर्ना कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय परिषद सदस्य तथा जिल्ला प्रचार विभाग प्रमुख कृष्ण सापकोटाले निर्वाचन आयोगमा दर्ता भएको पार्टीहरुलाई दलको चुनाव चिन्ह हैन स्वतन्त्र उम्मेदवारको चुनाव चिन्हमा मात्र भाग लिन पाउने भनी निर्वाचन कार्यालयले गरेको निर्णयले लोकतन्त्रको धज्जी उडाएको र नयाँ पार्टीहरुको गला रेटेको बताउनुभयो ।
उहाँले नयाँ शक्ति नेपाल सहित ६२ दललाई आफ्नो चुनाव चिन्हबाट बन्चित गरेको कदम नसच्चाए निर्वाचन हुन नदिने बताउनुभएको छ । उहाँले तत्काल सरकारले उक्त निर्णय सच्चाएर निर्वाचनको वातावरण बनाउन आग्रह गरनुभयो ।
उक्त अवसरमा ४ नं. प्रदेश सदस्य प्रकाश केसी, केन्द्रिय परिषद सदस्य तथा ३ नं. क्षेत्रीय संयोजक कुशल बुढा मगर, ४ नं. प्रदेश सदस्य युनिष मियाँ र केन्द्रीय परिषद सदस्य तथा जिल्ला समन्वय परिषद संयोजक चित्र सापकोटा लगायतले बोल्नुभएको थियो ।








