
म्याग्दी,१० चैत्र
‘हाम्रो अभियान, लोकसंस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नारासहित प्रथम धौलागिरि सांस्कृतिक महोत्सव आजदेखि शुरु भएको छ ।
कलाकारहरुको कल्याणकारी कोष स्थापना गर्ने उद्देश्य सहित बिहीबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा प्रथम धौलागिरि सांस्कृतिक महोत्सव आयोजना गरिएको हो ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान धौलागिरि अञ्चल कार्यसमितिको आयोजनामा शुरु भएको सांस्कृतिक महोत्सव आगामी चैतको २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले स्थानीय कलासंस्कृतिको विकास र प्रवद्र्धनको लागि महोत्सवले ठूलो भूमिका निर्वाह गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर बिरही गुरुङ र वर्तमान केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश बिजी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी अञ्चल अध्यक्ष शङ्कर विरही गुरुङ, प्रतिष्ठान धौलागिरिका निवर्तमान अध्यक्ष तारानाथ आचार्य, पर्वत अध्यक्ष दिपक गदाल र म्याग्दी अध्यक्ष कृष्ण जिसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको विशेष साङ्गीतिक प्रस्तुती रहने सांस्कृतिक महोत्सवमा खुला लोकगीत, सालैजो नृत्य, मौलिक झाँकी प्रदर्शन, भजन प्रतियोगिता लगाएतका कार्यक्रम रहने बताइएको छ । महोत्सव शुरु हुनुपूर्व जिल्लास्थित विभिन्न जातजाति र संघसंस्था सहभागी झाँकीसहितको ¥याली निकालिएको थियो ।
कार्यक्रमको उद्घाटन सत्र अञ्चल अध्यक्ष राजेन्द्र सापकोटाको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष कृष्ण अखेलीको स्वागत र महासचिव पूर्ण परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।










