बिक्रम सुनार
बागलुङ, ९ चैत्र
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालु आर्थिक वर्षमा ५ हजार बढि सवारी चालकलाई कारवाही गरेको छ ।
चालु आर्थिक वर्षमा ५ हजार २ सय ८३ जना सवारी चालकलाई गरिएको कारवाहीबाट ३१ लाख भन्दा बढी राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
आर्थिक बर्ष २०७२÷७३ मा ५ हजार ४ सय ९४ जना सवारी चालक कारवाहीमा परेका थिए । गत आर्थिक वर्षमा ट्राफिक कारवाहीबाट २२ लाख ६२ हजार ९ सय रुपैयाँ राजश्व संकलन भएको थियो ।
चालु आर्थिक वर्षको नौ महिनामा ३१ लाख ६२ हजार ५ सय राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख छवबहादुर घर्तिले बताउनुभयो ।

ट्राफिक नियम बिपरित मादक पदार्थ सेवन गरि सवारी चलाएको, पार्किङ निषेधित क्षेत्रमा सवारी साधन राख्ने, अनुमति पत्र नलिई सवारी साधन चलाउने बढी कारबाहीमा परेको उहाँले बताउनुभयो ।बागलुङमा गत वर्ष २५ सवारी साधन दुर्घटनामा परि ६ महिला र ५ पुरुषको मृत्यु भएको थियो । ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको फागुन मसान्त सम्म १४ दुर्घटनामा १ महिला र ११ जना पुरुष मृत्यु भएका थिए ।
यस्तै चालु आर्थिक वर्षमा मापसेमा ७३ जना चालक र सहचाक मध्ये प्रति व्यक्ति १ हजारका दरे ७३ हजार र गत वर्ष ५९ जनाबाट ५९ हजार राजश्व संकलन गरिएको ट्राफिक प्रमुख घर्तिले जानकारी दिनुभयो । 
ट्राफिक सचेतना मार्फत दुर्घटना न्युनिकरण गर्नका लागि कार्यालयले बागलुङका विभिन्न स्थान र विद्यालयका साथै चालक, सह–चालक, यातायात व्यवसायी बिचमा सचेतना कार्यक्रम पनि गर्दै आएको ट्राफिक कार्यालयले जनाएको छ ।कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा १७ पटक २ हजार १ सय ७५ जना र चालु आर्थिक वर्षमा १४ पटक १ हजार ९ सय १० जनालाई दुर्घटना न्युनिकरण, ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।









