
बागलुङ, ७ चैत
आगामी बैसाख ३१ गते तोकिएको स्थानीय तह निर्वाचनको तयारीका लागि जिल्ला निर्वाचन कार्यालय सहित प्रशासनको सक्रियता बढेको छ ।
कार्यालयले बागलुङको मतदाता नामाबली तयार गरेको छ भने सबै आवस्यक मतदान केन्द्रको पहिचान समेत गरिसकेको हो । केहीदिन देखि निर्वाचन सुरक्षा, आवस्यक कर्मचारी लगायतको तयारीमा समेत जुटेको छ ।
यस अघि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा राखिएका ९२ स्थानका मतदान केन्द्र लाई बढाएर १ सय ३ वटा केन्द्र बनाएको जिल्ला निर्वाचन अधिकारी बिकासचन्द्र पौडेलले बताउनुभयो । प्रजिअ भागिरथ पाण्डेयको अध्यक्षतामा बसेको बैठकले उल्लेखित केन्द्रहरु तोकेको छ । राज्य पुन संरचनाको आधारमा ९ वटा वडाको संरचना नरहेकोले ती वडा रहेका मतदान केन्द्रलाई ११ वटा केन्द्रको रुपमा रुपान्तरण गरेर १ सय ३ पु¥याईएको हो । यस अघि हरेक गाविसको वडा तहको लागि मतदान स्थल रहने गरेको थियो । बागलुङ नगरपालिकामा २२, जैमुनी नगरपालिकामा ११, गलकोट नगरपालिकामा १३ र ढोरपाटन नगरपालिकामा ११ वट मतदान केन्द्र रहनेछन् । त्यस्तै काठेखोला गाउँपालिकामा १०, बरेङमा ५, ताराखोलामा ६, बडीगाढमा १२, तमान खोलामा ६ र निसीखोलामा ७ वटा मतदान केन्द्र रहनेछन् ।
कार्यालयले जिल्लाभरका १ लाख ६३ हजार २ सय ३७ जना मतदाताको फोटो सहितको नामाबली तयार गरेको छ । ७७ हजार ८ सय ५० जना पुरुष र ८५ हजार ३ सय ८७ जना महिला मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । यस अघिको निर्वाचनमा १ लाख २९ हजार ४६ मतदाता रहेकोमा यो अवधिमा ३४ हजार थप भएका हुन् । निर्वाचन मिति घोषणा भएको फागुन ९ गते सम्म १८ बर्ष पुरा भएका नेपाली नागरिकले स्थानीय तहमा मतदान गर्न पाउने प्रावधान छ ।
२०७० सालको निर्वाचनमा बागलुङ जिल्लामा ९२ स्थलमा १ सय ८८ मतदान केन्द्र रहेकोमा स्थानीय तहको पुनर्संरचना हुँदा नवगठित ९ वटा वडाहरु मतदानस्थल विहिन भएका छन् भने साविकका वडाहरुलाइ नयाँ वडा निर्माणका क्रममा समायोजन गर्दा केही वडाहरुमा मतदानस्थल थप्नु पर्ने अवस्थामा देखिएको पौडेलले बताउनु भयो । बागलुङमा ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटा स्थानीय सरकारको ईकाइ बनेका छन् ।
मतदाता शिक्षा कार्यक्रम अन्र्तगत निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंसेवकहरु मतदाताको घर दैलोमा पुगेर मतदाताहरुलाई मतदान गर्ने तरिका बारे सिकाउनेछन् । कार्यालयले जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा सम्बन्धी प्रशिक्षण सञ्चालनको तयारी पनि गरिरहेको छ । जिल्लामा सरकारी तथा सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीले मात्र अपुग हुने भएकोले सामुदायिक विद्यालयका शिक्षकहरु समेत समावेश गरेर कार्यालयले मतदान केन्द्रमा खटिने कर्मचारीको व्यवस्थापन गरेकोे छ । सबै मतदान केन्द्रहरुमा सुरक्षाकर्मी वाहेक १ हजार ६ सय जनशक्तिको आवश्यकता पर्नेछ ।
यसै बिच जिल्ला निर्वाचन कार्यालयमा १४ वटा दलहरुले मात्र तोकिएको मिति भित्र आफ्नो विवरण अद्यावधिक गराएका छन् । यसभन्दा अगाडिको निर्वाचनमा सहभागी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा माले, राप्रपा, संघिय समाजवादी फोरम, अखण्ड नेपाल पार्टी जिल्लाको निर्वाचनमा सहभागी हुनेछन । त्यस्तै, नयाँ सूचीकृत हुने राजनैतिक दलमा नयाँ शक्ती पार्टी, राष्ट्रिय शिव सेना पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टी, नेपाल दलित पार्टी र युनाईटेड ग्रिन अर्गानाईजेशन पाटी रहेका छन ।









