
बागलुङ, १ चैत
नयाँ संरचना अनुसार सोमदेखि बागलुङ जिल्लामा चार नगरपालिका र ६ गाउँपालिका कार्यान्वयनमा आएका छन ।
जिल्लामा हात कायम एक जिल्ला विकास समिति र ५९ गाविस विघटन भई गाउँपालिका र नगरपालिकामा रुपान्तरण भएका छन ।
हालको जिविस जिल्ला समन्वय समितिमा रुपान्तरण भएको छ भने गाविसहरु वडामा परिवर्तन भएका छन । २०४७ सालमा स्थापना भएको जिविस स्थापना भएको २६ वर्ष पछि विघटन भएको छ ।
गाविस र नगरपालिका हाल जुन नगरपालिका वा गाउँपालिकाका रुपमा कायम भएका छन् तिनैबाट कार्य सञ्चालन हुनेछन । स्थानीय तह कार्यान्वयनसँगै वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचन तयारीमा समेत सहयोग पुग्ने भएको छ ।
जिल्ला समन्वय समितिको निर्देशन बमोजिम गाउँपालिका र नगरपालिकाको नयाँ साइनबोर्ड, छाप, लेटरप्याड तयारी गरिएको छ । सो सम्बन्धी नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख समेत व्यवस्था गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख रामप्रसाद आचार्यका अनुसार निसी गाउँपालिकामा दिपक शर्मा, बूर्तिवाङ्ग नगरपालिका चण्डीराज पौडेल, तमान गाउँपालिकामा कमल भुर्तेल, बडिगार्ड गाउँपालिकमा थमनबहादुर रेश्मी, गलकोट नगरपालिका माधव शर्मा, बागलुङ नगरपालिका नगरकार्यपालिकाको कार्यालय बागलुङमा कार्यकारी अधिकृत रमेश ढकाल, काठेखोला गाउँपालिकामा चुणबहादुर कार्की, बरेङ्ग गाउँपालिका तमबहादुर खत्री, जैमीनि नगरपालिकामा चिरञ्जीवि शर्मालाई निमित्त प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।
बागलुङ नगरपालिका बाहेक अन्य नगरपालिका र गाउँपालिकामा सम्बन्धीत स्थानीय निकाय अन्तर्गत कार्यरत गाविस सचिवहरु मध्ये जेष्ठताको आधारमा गाविस सचिवलाई निमित्त प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो । स्थानीय तह पुनःसंरचना गर्दा कायम भएका गाउँ र नगरपालिकाको केन्द्र जहाँ कायम भएको छ त्यहीं नै कार्यालय बस्नेछ ।
मन्त्रालयले नयाँ व्यवस्था अनुसार पुनःसंरचना गर्दा कायम भएको नामबाट गाउँरनगरपालिका सञ्चालन गर्न भनेको छ । नाम र केन्द्र परिवर्तन गर्न आवश्यक देखिएमा निर्वा्चित जनप्रतिनिधिले बहाल भएको छ महिनाभित्र गाउँसभा वा नगरसभाको बहुमतले सरकारलाई सिफारिस गर्नुपर्ने र सरकारबाट स्वीकृत भएपछि राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।
जिल्ला समन्वय समितिले आगामी वर्ष कर लगाउने, परिषद् गर्नेलगायत काम गर्न नपाउने व्यवस्था गरिएको छ । कुनै मन्त्रालय वा निकायले प्रदान गरेको अधिकार गाउँरनगरपालिकाले प्रयोग गर्न सक्ने व्यवस्था छ । गाउँ र नगरपालिकाले सहरी योजना, बस्ती विकास र भवन निर्माण मापदण्ड कार्यान्वयन गर्नेछ भने जिल्ला सभा र समन्वय समितिको अधिकार हाललाई स्थानीय विकास अधिकारीले प्रयोग गर्नेछन ्।
गाउँ र नगरपालिकामा निर्वा्चित अधिकारी बाहेक प्रशासकीय व्यवस्थापनका लागि कार्यकारी अधिकृत रहनेछन । गाउँपालिकामा उपसचिव वा शाखा अधिकृत स्तरको कार्यकारी अधिकृत, एक सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियर, नायबसुब्बा, लेखापाल, सबइन्जिनियर र कार्यालय सहयोगी रहनेछन्। नगरपालिकामा उपसचिव स्तरको कार्यकारी अधिकृत, सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियर, नायब सुब्बा, लेखापाल, सबइन्जिनियर, प्रशासन तथा लेखा सहायक र कार्यालय सहयोगी रहनेछन ।
गाउँपालिकाले दैनिक प्रशासन र जिल्लास्थित कार्यालयबाट अधिकार प्रत्यायोजन गरिएका काम गर्नेछन् । योजना तर्जुमा, कार्यान्वयन अनुगमन, तथ्यांक अद्यावधिक र संरक्षण, विकास निर्माण, नियमन, सिफारिस प्रमाणित लगायत काम पनि गर्नेछन् । हाल जिविस र गाविसबाट हुने सबै काम गाउँपालिकाले नै गर्नेछन ।
पर्वतका नगरपालिका र गाउँपालिकामा प्रमुख खटाइयो
संविधानले गरेको व्यवस्था बमोजिम स्थानीय तह कार्यान्वयनमा गएको छ ।
कार्यान्वयन स्वरुप पर्वतमा अब दुई वटा नगरपालिका र पाँचवटा गाउँपालिका कायम भएका छन भने सबै गाबिस, नगरपालिका तथा जिल्ला बिकास समिति खारेज भएका छन ।
पर्वतमा कुस्मा र फलेबास नगरपालिका तथा पाँच गाउँपालिका कायम भएका हुन् । जलजला, मोदी, महासिला, पैञ्युँ र बिहादी गरी पाँच गाउँपालिका कायम गरिएको छ । भने साविकको कुश्मा नगरपालिका र फलेवास गरी दुई वटा नगरपालिका कायम गरिएको छ ।
यसैबीच जिल्ला समन्वय समितिले सोमवार सबै गाउँपालिका र नगरपालिकामा कर्मचारी खटाएको छ । अहिले कार्यरत गाबिस सचिबहरु मध्ये सबैभन्दा सिनियरलाई खटाउने योजना अनुसार फलेवास नगरपालिका र अन्य पाँच गाउँपालिकामा प्रमुख सहित कर्मचारी खटाइएको प्रमुख स्थानिय बिकास अधिकारी बिष्णु भुसालले जानकारी दिनुभयो ।
स्थानिय विकास आधिकारी भुसालका अनुसार कुस्मा नगरपालिकाको कार्यालय साबिकै कुस्मा नगरपालिकामा कायम हुने भएको छ भने त्यसको प्रमुख अहिलेकै कार्यकारी अधिकृत कुमानसिंह गुरुङ्ग रहने भएका छन् । त्यस्तै नयाँ बनेको फलेबास नगरपालिकामा भने केन्द्र खानीगाउँ गाबिसको कार्यालय कायम भएको छ ।
फलेबासमा अहिले अधिकृतस्तरको कर्मचारी नभएका गाबिस सचिब मध्ये सिनियर कार्किनेटा गाबिसका सचिब चिन्तामणी शर्मा गौतमलाई प्रमुखको रुपमा खटाइएको छ । यसैगरी उत्तरको जलजला गाउँ पालिकाको केन्द्र माझफाँट गाबिसको कार्यालय कायम भएको छ । उक्त गाउँपालिकाको प्रमुखमा बाँसखर्कमा कार्यरत सचिब भिमप्रसाद अर्यालय प्रमुखको रुपमा खटिएका छन् ।
मोदी गाउँपालिकाको केन्द्र देउपुर गाबिसको कार्यालयलाई कायम भएको र उक्त गाउँपालिकामा प्रमुखको रुपमा राम्जादेउराली गाबिसमा कार्यरत सचिब भुमिराज शर्मालाई खटाइएको समन्वय समितिले जनाएको छ ।
यता महासिला गाउँपालिकाको केन्द्र बालाकोट गाबिस कार्यालय कायम गरिएको र तत्कालका लागि कार्यालय प्रमुखमा भोक्सिङमा कार्यरत सचिब कृष्णप्रसाद रिजाललाई जिम्मेवारी तोकिएको छ । पैञ्युगाउँपालिकाको केन्द हुवास गाबिसको कार्यालय कायम भएको छ भने प्रमुखको रुपमा भोर्ले गाबिसमा कार्यरत सचिब कुलप्रसाद लामिछानेलाई खटाइएको छ ।
यस्तै बिहादी गाउँपालिकाको केन्द्र वहाकी गाबिसको कार्यालयमा कायम रहने र गाउँपालिकामा बर्राचौर गाबिसमा कार्यरत गाबिस सचिब कृष्णप्रसाद पौडेललाई प्रमुखको रुपमा खटाईएको समन्वय समितिका संयोजक स्थानिय पिवकास अधिकारी भुसालले जानकारी दिनुभयो ।
आत्महत्या गरिएको भनिएको युवकको आत्महत्या नभई हत्या
बागलुङको पैयुपाटामा आत्महत्या गरिएको भनिएको युवकको आत्महत्या नभई हत्या भएको खुलेको छ ।
गत फागुन २७ गते राति गाउँमै झुण्डिएको अवस्थामा भेटिएका २५ बर्षिय बिनोद हरिजनको आत्महत्या नभई हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
मृत्यु हुने हरिजन भारतको मद्रासमा बस्दै आउनुभएको थियो । उहाँ बिच बिचमा पुख्यौली गाउँ पैयुपाटा आउने जाने गर्नु भएको थियो । हत्या आरोपमा सोही स्थानका भाउजु पर्ने २६ बर्षिया रिता नेपाली र उनलाई सघाउने टेकबहादुर थापालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले बताउनुभयो ।
घटनास्थलमा रगत, घाटी हात लगायतका भागमा चोटग्रस्त देखिए पछि स्थलगत अनुगमन सहित अनुसन्धान गर्दा घटना आत्महत्या नभई हत्या भएको पुष्टि भएको उहाँले बताउनुभयो ।
शुरुमा आत्महत्या भनेर पोष्टमार्टम गर्न लागिए पनि मृत्युको प्रकृति र शव हेर्दा स्वभाविक आत्महत्या भएकोमा आशंका देखिए पछि कार्यालयले प्रहरी निरिक्षक खड्गनारायण शाहको कमाण्डमा अनुसन्धानका लागि टोली खटाएको थियो ।
अनुसन्धानका क्रममा हरिजनको भाउजु पर्ने रिता नेपालीसँग नाजायज सम्वन्ध भएको र यसकै कारण हत्याको अवस्था सम्म पुगेको पाइएको अनुसन्धानमा सम्लग्न शाहले बताउनुभयो । पक्राउ परिएका नेपाली र थापालाई जिल्ला अदालतबाट थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
सहमति अनुसार अक्षते सुल्डाडाँ केन्द्र कायम राख्नुपर्ने माग
काठेखोला गाउँपालिकाको केन्द्र अक्षते सुल्डाडा कायम राख्नुपर्ने माग राख्दै स्थानीय राजनीतिक दलहरुले जिल्ला समन्वय समितिमा सोमबार ज्ञापन पत्र बुझाएका छन ।
पूर्व सहमति विपरित राजपत्रमा काठेखोला गाउँपालिका केन्द्रको विहुँ गाविसको कार्यालय तोके पछि स्थानीय राजनीतिक दलहरुले पूर्वसहमति कार्यान्वय गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन ।
जिल्लामा भएको सर्वदलीय वैठकले काठेखोला गाउँपालिकाको केन्द्र सुल्डाडा–अक्षेते राख्ने सर्वसम्मत सहमति गरेर पठाएको थियो । राज्य पुनसंरचना आयोगले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार गाउँपालिकाको केन्द्र साविक विहुकोट गाविसको हटिया उल्लेख भएको भन्दै सच्याउन राजनीतिक दलका प्रतिनिधिहरुले माग गरेका हुन ।
सिगाना गाविसको वडा नं ६, पाला गाविसको वडा नंं. १ देखि ५ सम्म, भीमापोखरा, धम्जा, तंग्राम, बिहु, रेश र लेखानी गाविस समावेश गरी ८ वटा वडा रहेको काठेखोला गाउँपालिकाको केन्द्र सुल्डाडा–अक्षेते पायक पर्ने र सर्वदलीय सहमति पनि भैसकेकोले सोही स्थानलाई कार्यान्वयन गर्न माग गर्दै जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाएका हुन ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायतका राजनीतिक दलहरुले भौगोलिक अवस्था, जनताको सुविधा लगायत राज्यका कार्यालय र संभावनाका हिसावले सुल्डाडा–अक्षेतेमै केन्द्र राख्नु पर्नेमा जोड दिएका छन् ।
सोमबार बिहान बागलुङ बजारमा बसेको काठेखोला गाउँपालिका अन्तरगतका पार्टीका प्रतिनिधि र सरोकारवालाहरुको वैठकले कुनै पनि हालतमा सुल्डाडा–अक्षेते मै केन्द्र तोक्न दवाव दिने र वेवास्ता भएमा आन्दोलन समेत गर्ने निर्णय गरेको नेकपा एमाले केन्द्रीय सहकारी विभागका सदस्य रामबहादुर जिसीले जानकारी दिनुभयो ।
सबै पार्टीका प्रतिनिधिहरुको सहभागितामा जिल्ला समन्वय समितिमा गएको टोलीका तर्फबाट एमाले जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतमले स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाउनु भएको थियो । ज्ञापनपत्र बुझ्दै स्थानीय विकास अधिकारी आचार्यले दलहरुको सहमतिमै केन्द्र तोक्ने विषयमा आफु सकारात्मक रहेको र केन्द्रमा छलफल गरेर टुंगो लगाउने बताउनु भएको छ ।
नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि होमबहादुर हमाल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतम, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य लक्ष्मण पुन, एमाले जिल्ला सचिवालय सदस्य अञ्जु जिसी (हुमा), जिल्ला सदस्यहरु दिपक गौतम र प्रेम लामिछाने, जिल्ला लेखा समिति सदस्य खिमबहादुर कार्की, नेपाली काग्रेस भीमापोखरामा खिमानन्द कँडेल, एमाले भीमापोखराका अध्यक्ष रामप्रसाद शर्मा, नेपाली कांग्रेसका हरिबहादुर भण्डारी, नेवि संघका अध्यक्ष खड्क थापा लगायतको उपस्थितिमा सम्पन्न बैठक पछि टोलीले जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाएको हो ।
स्थानीय तह पुनसंरचना अन्तरगत बागलुङ जिल्लामा ४ नगरपालिकासहित १० वटा तहको व्यवस्था गरिएको छ । बागलुङ नगरपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपािलका र जैमुनी नगरपालिका तथा गाउँपालिकाहरुमा काठेखोला सहित ताराखोला, बरेङ, बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका कायम भएका छन् ।
सर्वदलीय सहमति अनुसार पठाएका विभिन्न ठाउँमा गाउँपालिका र नगरपालिकाको केन्द्र फरक परेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाले बताउनुभयो । निसीखोला गाउँपालिकाको झिवाखोला हुनु पर्नेमा देविस्थान, बरेङ गाउँपालिकाको बरेङ बजारमा हुनु पर्नेमा हुग्दिशिर गाविसको कार्यालय, गलकोट नगरपालिकाको मझुवाफाँट हुनु पर्नेमा हरिचौर बजार भएर आएको थापाको भनाइ छ ।
नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा सुवेदी निर्वाचित
नेपाल शिक्षक संघ म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा दुर्गाराम सुवेदी निर्वाचित हुनुभएको छ ।
नयाँ नेतृत्व चयनका लागि आइतबार राती सम्पन्न निर्वाचनबाट अध्यक्षका प्रत्यासी दीपक श्रेष्ठलाई ८ मतले पछाडी पार्दै सुवेदी विजयी हुनुभएको हो ।
सुवेदीले १ सय ३८ मत र श्रेष्ठले १ सय ३० मत प्राप्त गरेको निर्वाचन अधिकृत रेखाकौशल रेग्मीले जानकारी दिनुभयो । यसैगरी ६ जना प्रतिष्पर्धी रहेको सचिव पदमा ७३ मत प्राप्त गरी गजेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नवराज शर्माले ७० मत प्राप्त गरेका गर्नुभएको छ भने अर्थ सचिव पदमा १२३ मत प्राप्त गरी खेमराज शर्मा विजीय भएको निर्वाचन समितिले घोषण गरेको छ । शर्माका निकटतम प्रतिस्पर्धी भीमप्रसाद गौतम (जीवन)ले ९१ मत प्राप्त प्राप्त गर्नुभएको थियो ।
त्यस्तै सहसचिवमा १ सय २२ मत प्राप्त गरी रामचन्द्र पौडेल निर्वाचित भएका हुनुभएको छ । । तीन पदका लागि भएको सङ्घीय महाधिवेशन प्रतिनिधिमा निवर्तमान अध्यक्ष केशवप्रसाद रेग्मी, कल्याण सुवेदी र गिरीप्रसाद छन्त्याल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
उपाध्यक्षमा नगेन्द्रबहादुर केसी र महिला उपाध्यक्षमा जमुनाकुमारी रोका निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत रेग्मीको भनाई छ । सहसचिव महिलातर्फ भीमकुमारी सुवेदी, अर्थ सहसचिवमा पदमवहादुर केसी, सङ्घीय महाधिवेशन प्रतिनिधि महिलातर्फ सरस्वती शर्मा निर्विरोध निर्वाचित भएको उनले बताइन् । त्यसैगरी प्रदेश अधिवेशनतर्फ बोधहरी सुवेदी, विजय सुवेदी, बद्रीप्रसाद शर्मा, शोभा हमाल मल्ल र शान्ता सुवेदी निर्विरोध चयन हुनुभएको थियो । ।
सदस्यमा तारादेवी श्रीष, भगवती शर्मा, सावित्री बरुवाल, पुष्कर शर्मा, हेमबहादुर जिसी, चन्द्रमान छन्त्याल र नविन भट्टराई निर्विरोध भएको बताइएको छ । कार्यक्रममा सांसद रेशमबहादुर बानियाँ, नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, शिक्षक संघका निवर्तमान अध्यक्ष केशवप्रसाद रेग्मी र महिला संघका अध्यक्ष बिमला गौचनले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
निर्वाचन समितिका संयोजक दिवाकर सुवेदीको अध्यक्षता र अधिकृत रेखा रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दुर्गाराम सुवेदीले प्रतिबद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो ।
हात्तीपाईले रोग निवारणसम्बन्धी कार्यक्रमको अन्तत्र्रिmया
जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा सोमबार सदरमुकाम बेनीमा हात्तीपाईले रोग निवारण कार्यक्रमको अन्तत्र्रिmया सम्पन्न भएको छ ।
हात्तीपाईले रोग निवारणका लागि जिल्लास्तरीय जनचेतना अभिवृद्धि तथा अन्तत्र्रिmयात्मक कार्यशाला गोष्ठी गरिएको हो ।
गोष्ठीमा बेनी नगरपालिका भित्रका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, वडा नागरिक मञ्चका पदाधिकारी, विद्यालयका शिक्षकलगायतको सहभागीतामा कार्यक्रमसम्बन्धी अन्तत्र्रिmया गरिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । समुदायस्तरमा हात्तीपाईले रोगविरुद्धको औषधी सेवन गर्न गराउन सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको बताइएको छ ।
कार्यक्रमको जिल्ला जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरी र फोकल पर्सन भीम आचार्यले सहजीकरण गरेका थिए । उनीहरुले हात्तीपाईले रोगको परिचय, सर्ने माध्यम, औषधी सेवन, बच्ने उपायलगायका विषयहरुमा जानकारी गराएका थिए ।
हात्तीपाईले रोग लामखुट्टेको माध्यमले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । सबैले राम्रोसँग औषधी नखाएका कारण हात्तीपाईले रोग उन्मुलन हुन नसकेको स्वास्थ्यकर्मीको भनाई छ ।
उक्त कार्यक्रमको अवसरमा म्याग्दी जिल्लामा आउँदो चैतको ५, ६ र ७ गते हात्तीपाईले रोगविरुद्धको ८औं चरणको औषधी खुवाउन अभियान सञ्चालन गर्न लागिएको जानकारी गराइएको छ । म्याग्दीमा मात्रै हात्तीपाईले रोगका १ हजार ४ सयजना बिरामीहरु रहेका छन् । हात्तीपाईले प्रभावित देशको ६५ जिल्लामध्ये ३० जिल्लामा अभियान सञ्चालन गरिएको छ भने पश्चिमाञ्चलको ६ र धौलागिरिका ३ जिल्लामा हात्तीपाईलेका बिरामीहरु रहेका छन् ।
पुस्तकालयलाई इमेज सहकारी बाट कम्प्युटर प्रदान
बिद्यामन्दिर पुस्तकालय बागलुङले सँचालन गरेको बिधुतिय पुस्तकालयको लागि इमेज सहकारी बागलुङले कम्प्युटर हस्तान्तरण गरेको छ ।
पुस्तकालयले सँचालन गरेको ई लाइब्रेरी लाई सहयोग र्पुयाउनको लागि इमेज बचत तथा ऋण सहकारी सँस्था लिमिटेड बागलुङका प्रबन्धक सुनिल नेपाली ले पुस्तकालयमा एक थान कम्प्युटर अध्यक्ष राजेशचन्द्र राजभण्डारी लाई हस्तान्तरण गरेको पुस्तकाध्क्ष मन्जु केसीले बताउनु भयो ।
२००३ सालमा स्थापित सामुदायिक पुस्तकालयको रूपमा सँचालित बिद्यामन्दिर पुस्तकालयले २०७२ चैत देखि ई लाइब्रेरी सँचालन गर्दै आए पछि पुस्तकालयमा आउने पाठकहरू बृद्दि भएको अहिले नियमित ५५ जना पाठक आउने गरेको केसी ले बताउनु भयो ।
पुस्तकालयको ई लाइब्रेरी लाई बागलुङ उद्योग बाणिज्य सँघ बाट एक थान कम्प्युटर लायन मनोरम सँस्था बाट दुई थान कम्प्युटर सहयोग प्रदान गरिसकेको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताउनु भयो ।
रोट्रयाक सप्ताह शुरु
सामाजिक कार्यमा क्रियाशिल रोट्रयाक क्लव अफ बागलुङले रोट्रयाक सप्ताह शुरु गरेको छ ।
रोट्रयाक क्लव अफ बागलुङले बिभिन्न कार्यक्रमको आयोजना गरि रोट्रयाक सप्ताह श्ुरु गरेको हो । सप्ताहको बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले उद्घाटन गर्नु भएको थियो ।
उद्घाटनपछि बोल्दै प्रमुख जिल्ला अधिकारी पाण्डेयले बिभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमको आयोजना गरि शुरु गरेको सप्ताहले समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो । स्वार्थ भन्दा माथि रहेर आपत बिपतमा परेका सवैलाई सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा रोटरी क्लव अफ बागलुङका पूर्व अध्यक्ष गगनलाल शाक्य, प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङ, करसेवा कार्यालय बागलुङका प्रमुख सूर्यप्रसाद चापागाई, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धनबहादुर परियार, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, बागलुङ जेसीजका अध्यक्ष जोहन बज्रचार्य र रोट्रयाक क्लव अफ बागलुङका पूर्व अध्यक्ष दिपेन्द्र घिमिरेले सप्ताह सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा आदर्श बिद्या मन्दिर उच्च मावि र न्यु ओइसीस एकेडेमीका इन्ट्रयाक क्लवका कलकारहरुले नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा आदर्श बिद्या मन्दिर उच्च मावि कक्षा युकेजीमा अध्यनरत श्रद्धा केसीले उत्कृष्ठ नृत्य प्रस्तुत गरेकी थिइन भने रोट्रयाक र इन्ट्रयाकका पदाधिकारी तथा सदस्यहरुले बिभिन्न प्रतिभा प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम क्लवका अध्यक्ष सुवास केसीको अध्यक्षता, आगामी अध्यक्ष नविन पन्तको धन्यावाद मंतव्य, सदस्य ताराप्रसाद शर्माको स्वागत र निर्देशक शिव केसीको संचालनमा सम्पन्न भएको कार्यक्रम संयोजक बलबहादुर थापाले जानकारी दिनुभयो ।
कार्यक्रम अन्तरगत आज निरयघाटका जेष्ठ नागरिकलाई फलफुल बितरण, २ गते शान्ति ¥याली तथा सहयोग हस्तान्तरण, ३ गते लियो र रोट्रयाक क्लवबिच मैत्रीपूर्ण फुटसल, ४ गते मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता, ५ गते तालिम र ६ गते पुरस्कार तथा मायाको चिनो बितरण सहित समापनको कार्यक्रम रहेको अध्यक्ष सुवास केसीले जानकारी गराउनुभयो ।
महिला उद्यमीलाई सम्मान गर्दै रोट्रयाक्ट सप्ताह सुरु
दुई महिला उद्यमीलाई सम्मान गर्दै रोट्रयाक्ट सप्ताह २०१७ सुरु भएको छ ।
मार्च १३ लाई हरेक वर्ष रोट्रयाक्ट दिवसका रुपमा विश्वव्यापी रुपमा मनाउने क्रममा रोट्रयाक्ट क्लव अफ पर्वतले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको उद्धाटनमा उदाहरणीय कार्य गर्ने दुई उद्यमी महिलालाई सम्मान गरिएको हो ।
सिलाईकटाई व्यवसाय गर्ने विष्णुकुमारी क्षेत्री सुवेदी र गिताकुमारी शर्मा सम्मानित भएका हुन् । सम्मानित भएका सुवेदी सिलाईकटाई प्रशिक्षक हुन् । उहाँलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ । त्यस्तै शर्मा विपन्न महिला भएको बताइएको छ । सिप भएर पनि सिलाईकटाई मेसिन खरिद गर्ने आर्थिक क्षमता नभएपछि उहाँलाई एकथान मेसिन हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुषालले क्लवले सामाजिक क्षेत्रमा गरेका उदाहरणीय कार्यको प्रशंसा गर्दै सप्ताह सफलताको शुभकामना व्यक्त गर्नुभयोे । सोमबार उद्धाटनसँगै सप्ताह अन्तर्गत प्रत्येक दिन फरकफरक किसिमका कार्यक्रम हुने जनाईएको छ ।
चैत्र १ गते आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कुश्मा नगरपालिका चुवास्थित लालेश्वर गुफामा मूर्ति स्थापना, तेश्रो दिन ठुलीपोखरीको एक विद्यालयमा अपाङ्गलाई ह्विलचियर तथा स्टेशनरी सामाग्री वितरण, चौथो दिन भने आयोजक क्लव र पर्वत संगीत तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने कार्यक्रमका मूल संयोजक मिलन पौडेलले जानकारी दिनुभयो ।
पाँचौ दिन ४ गते दुर्लुङ्ककोटको सूर्यप्रकाश माविमा विद्यालयका लागि आवश्यक भौतिक सामाग्री हस्तान्तरण, युवाहरुलाई व्यक्तित्व विकास तालिम र अन्तिम दिन ६ गते जिल्ला प्रहरी र ट्राफिक प्रहरीको समन्वयमा ट्राफिक सचेतना बोर्ड स्थापना तथा बजारक्षेत्रमा सरसफाईका बोर्ड स्थापना रहेको छ । र सोही दिन सप्ताहको समापन हुने बतााइएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव गणेश गिरी र क्लवका पूर्वाध्यक्ष विनोद आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । क्लवका अध्यक्ष आरसी पौडेलको अध्यक्षता कार्यक्रम संयोजक गणेश पौडेलको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिव गणेश पौडेलले गर्नुभएको थियो ।








