
बागलुङ, १ चैत
घरमुलीको मृत्यु पछि विचल्लीमा परेको काठेखोला गाउँपालिका–२ सिमा (भीमापोखरा –८) स्थित एक परिवारलाई स्थानीय एक सहकारीको अगुवाईमा राहत रकम प्रदान गरिएको छ ।
भीमापोखरा–८ निवासी स्वर्गीय थमबहादुर विकको आश्रीत परिवारलाई गुहेली संचार सहकारी संस्था र खबर बे अनलाईन पत्रिकाको अगुवाईमा संकलित नगद ४६ हजार एक सय ४५ रुपैयाँ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल इन्चार्ज हरिनारयाण गौतमले नन्दकली विकलाई प्रदान गर्नुभएको थियो ।
विकको गत माघ १० गते भारतको राजधानी नयाँ दिल्लीमा ह्दयघातको कारण मृत्यु भएको थियो । घरमा कमाउने एक मात्र व्यक्तको मृत्यु भए पछि ६ जनाको परिवार विचल्लीमा परेका छन ।
दुई छोरा र तीन छोरी रहेको विक परिवारमा कान्छी छोरी र कान्छो छोराले स्थानीय शिवालय आधारभूत विद्यालयमा अध्ययरत रहेका छन भने जेठो छोरा र जेठी छोरी आर्थिक अभावको कारण पढन छोडेर मजुरी गर्न बाध्य भएका छन ।
भारतको मजदुरीको भरमा परिवारको दैनिकी संचालन गर्दै आएको विक परिवार यति बेला चरम आर्थिक अभावले आहतको अवस्थामा पुगेको छ । स्थानीय समुदायको सक्रियतामा चन्दा संकलन गरी कागकिरिया सम्पन्न गरेको विक परिवारलाई दुई छोरा छोरी पढाउने र विहान बेलुकीको छाक टार्न समेत मुस्कील परेको छ ।
‘सम्पत्तिको नाममा दश हात जग्गामा एउटा छाप्रो बाहेक केही छैन’ स्वर्गीय विककी पत्नी नन्दकली विकले भन्नुभयो–गाउँमा दैनिक मजदुरी गर्न पनि पाईदैन, परिवार कसरी चलाउने चिन्ताले परोलेको छ ।’ छरछिमेकीको सहयोगले काजकिरियाको काम त सकियो विकले थप्नुभयो– पढदै गरेका छोरा छोरीको परिक्षा फि’ समेत तिर्न पुस्किल परेको छ ।
गुहेली संचार सहकारीका अध्यक्ष खिमबहादुर कार्की र खबर बे अनलाईन पत्रिकाका सम्पादक नवीन शिशिरको सक्रियाता संकलन भएको रकम परिवारको आयआर्जन हुने किसिमका काममा खर्च गर्ने विकले बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघका पश्चिमाञ्चल संयोजक गौतमले पत्रकारितालाई लोकल्याणकारी बनाउँदै लैजानुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैकका संचालक रामबहादुर जिसी, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, विवाईसी बागलुङका अध्यक्ष अमर थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विकको परिवारीक अवस्थाबारे स्थानीय विद्यापति शर्माले प्रकास पार्नुभएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता र नवीन शिशिरको संचालनमा सम्पन्न भएको थियो ।









