
बागलुङ, २७ फागुन
बि एण्ड बि अस्पताल काठमाडौंको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङ तथा अपाङ्गता सरोकार संघ बागलुङको संयोजनमा जिल्लाका चार स्थानमा अपाङ्गता भएका व्यक्तिहरुको लागि निशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।
जन्मदै तालु फाटेका (जिब्रोको माथिल्लो भाग), ओठ काटेका, गिजा प्वाल परेका, नाक बाङ्गिएका, ओठ नाक नमिलेका तथा एक पटक अपरेशन गरेर विग्रेका विरामीहरुको लागि स्वास्थ्य शिविर गर्न लागेको अपाङ्गता सरोकार संघ बागलुङका कार्यक्रम संयोजक राम प्रसाद घिमिरेले जानकारी दिए ।
शिविर चैत्र ८ गते कुश्मिसेरा स्वास्थ्य चौकी कुश्मीसेरा, चैत्र ९ गते अपाङ्गता सरोकार संघ बागलुङको कार्यालय बागलुङ बजार, १० गते हटिया स्वास्थ्य चौकी र ११ गते बुर्तिबाङ प्राथमिक स्वास्थ्य चौकी बुर्तिबाङमा गर्न लागिएको बि एण्ड बि अस्पताल काठमाडौंका कार्यक्रम संयोजक राम कुमार केसीले बताए ।
शिविरमा अपाङ्गता भएका व्यक्तिहरुको उपचार गरिनुका साथै शल्यक्रिया गरिनुपर्ने विरामीहरुको लागि सोहि दिन अथवा भोलीपल्ट बि एण्ड बि अस्पताल काठमाडौं लगिने छ । शल्यक्रिया गरिनुपर्ने विरामीहरुको लागि बि एण्ड बि अस्पताल काठमाडौंले जान, आउन, बस्न र खाना तथा शल्यक्रियाको निशुल्क व्यवस्था गरेको संयोजक केसीले जानकारी दिए । उनले विरामीहरुलाई सोहि दिन तथा भोलीपल्ट नै शल्यक्रियाको लागि काठमाडौं लगिने भएकाले विरामीहरुले काठमाडौं जाने गरेर शिविरमा उपस्थिति भईदिनको लागि अनुरोध गरेका छन् ।









