मधेसी मोर्चाले भन्दैमा चुनाव स्थगित हुँदैनः नेता पौडेल

पर्वत, २६ फागुन
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएरै छाड्ने दाबी गरेका छन् ।

बिहीबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेलामा नेता पौडेलले वैशाख ३१ गते निर्वाचन नहुने हो भने कुनै पनि तहको निर्वाचन गर्न नसक्ने बताए । चुनावको मिति घोषणासँगै सिङ्गो मुलुक चुनावमय बनेको भन्दै उनले अब किन र केका लागि रोक्न भनेर प्रश्न गरे ।

कांग्रेस नेता पौडेलले मधेसवादी दलहरुले भन्दैमा कुनै पनि हालतमा चुनाव स्थगन नहुने दाबी गरे । स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसलाई बहुमतसहितको पार्टी बनाउनुपर्ने उनको भनाइ छ ।

हतारमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउँदा सरकार अप्ठेरोमा परेको बताउँदै अब प्याकेजमा सहमति गरेर तोकिएको मितिभित्रै तीनै तहका चुनाव सम्पन्न हुने वातावरण मिलाउनुपर्नेमा जोड दिए ।