बागलुङमा स्थानीय तहको निर्वाचनका लागि १४ राजनैतिक दल दर्ता

बिक्रम सुनार
बागलुङ, २१ फागुन
स्थानीय तहको निर्वाचनको लागि हालसम्म निर्वाचन कार्यलय बागलुङमा १४ राजनैतिक दलहरु दर्ता भएका छन् ।
निर्वाचन कार्यलय बागलुङको तथ्याङक अनुसार संघीय समाजवादी फोरम नेपाल, नेपाल कम्न्युनिष्ट पार्टी माले, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल कम्न्युनिष्ट पार्टी एमाले, राष्ट्रिय शिवसेना, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली कांग्रेश, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्न्युनिष्ट माओवादी केन्द्र, नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक सेवा, नेपाल दलित पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेशन र अखण्ड नेपाल पार्टीले दर्ता गराएका छन ।
यसैविच जिल्ला निर्वाचन कार्यालय बागलुङले अन्तिम मतदाता नामावली प्रकाशन तथा मतदान केन्द्रका लागि आन्तरिक गृहकार्य गरिरहेको छ ।
नेपाल सरकारले अगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको मिति घोषणा लगत्तै जिल्ला निर्वाचन कार्यालय बागलुङले निर्वाचनको तयारीलाई अघि बढाएको हो ।
जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार हालसम्म जिल्लामा १ लाख ९१ हजार २ सय ५६ जनाको तस्विर सहितको मतदाता नामावली दर्ता भएका छन् । यसमध्ये असोज मसान्तसम्म दर्ता भएका १ लाख ५४ हजार १ सय ३२ जनाको मतदाता नामावली दावी विरोध गरेपछि हाल निर्वाचन आयोगमा पठाईएका निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी विकास चन्द्र शर्माले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन अधिकारी शर्माका अनुसार आयोगमा पठाइएको मतदाता नामावलीमा ८१ हजार ५ सय ६९ जना महिला र ७२ हजार ५ सय ६३ जना पुरुष रहेका छन् ।
यस्तै कात्तिकदेखि फागुन ९ गतेसम्म दर्ता भएका २ हजार ३६ जना महिला र ३ हजार ५७ जना पुरुष गरी ५ हजार १ सय २४ जनाको मतदाता नामावलीमा २१ गते सम्म दावी विरोध पछि मतादाता नामावलीमा भएको त्रुटि सच्चाउने कार्यतालिका रहेका शर्माले जानकारी दिनुभयो ।
फागुन २१ गते सवै मतदाताहरुको नामावली निर्वाचन आयोगमा पठाउने र आयोगमा पठाएपछि १८ वर्ष पुगेका मतदाताहरुको नामावली प्रकाशन हुने निर्वाचन कार्यलय बागलुङले जनाएको छ ।
आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउने भएपछि तस्विर सहितको मतदाता नामावली दर्ता गराएका मतदाताहरुको संख्या केहि घट्ने निर्वाचन कार्यालयले जनाएको छ ।
फागुन ९ गतेदेखि नामावली दर्ता स्थगित भएको निर्वाचन कार्यलय बागलुङले जनाएको छ । यस्तै जिल्ला निर्वाचन कार्यालयले स्थानीय निकायको निर्वाचनको लागि मतदान केन्द्रको पनि आन्तरिक गृहकार्य गरिरहेको छ ।
संविधान सभा सदस्य निर्वाचन २०७० मा बागलुङमा ९२ वटा मतदान स्थल र १ सय ८८ वटा मतदान केन्द्र रहेकोमा अहिले ती मतदान स्थल र केन्द्र थपघट गर्नुपर्ने बारेमा कार्यालयले तयारी गरिरहेको निर्वाचन अधिकारी शर्माले बताउनुभयो ।
उहाँका अनुसार २ सय संख्यामा मत पेटिका, २ सय मतदान अधिकृत, २ सय सहायक मतदान अधिकृत र ८ सय मतदान कर्मचारीको आवश्यक पर्ने बताउनुभयो । राज्य पुनःसंरचना आयोगको प्रतिवेदन सार्वजनिक नहँुदा सम्म मतदान केन्द्र र स्थानीय तह अनुसारको मतदाता नामावली विवरण तयार गर्नको लागि निर्वाचन कार्यालयलाई असहज हुने अधिकारी शर्माले बताउनुभयो ।
बागलुङ संविधान सभाका सदस्य क्षेत्र नम्वर १ का सभासद हरि खड्काको सडक दुर्घटनामा निधन पछि भएको उपनिर्वाचनमा ईलेक्ट्रिकल भोटिङ मेसिनबाट निर्वाचन गराइएको थियो भने स्थानीय तहको निर्वाचनमा आयोगको आदेश अनुसार निर्वाचन गराइने निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले सवै राजनैतिक दल तथा कर्मचारीहरुलाई फागुन १७ गते मंगलबारदेखि आचरसंहिताको लागु गरेको छ ।