
बागलुङ,२० फागुन
नेपाल उद्योग बाणिज्य महासघंका धौलागिरी अञ्चल प्रतिनिधि निर्माणकुमार श्रेष्ठ ‘बासु’ले प्रादेशिक सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
बागलुङ उद्योग बाणिज्य सघंले आज बिशेष कार्यक्रमको आयोजना गरि धौलागिरी अञ्चलका तर्फबाट श्रेष्ठलाई प्रदेश नम्बर ४ को प्रादेशिक सदस्य पदमा उम्मेदवार बनाउन लागिएको जानकारी दिएको छ ।
नेपाल उद्योग बाणिज्य महासघंको नयाँ नेतृत्व चयन गर्ने गरि आगामी चैत्र २८ र २९ गते काठमाण्डौमा ५१ औं साधारण सभा हुँदैछ ।
उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै श्रेष्ठले उद्योगी व्यवसायिको हकहित र अधिकारका लागि लामो समयदेखी समर्पित भएर लागेकाले प्रदेशबाट केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरिएको बताउनुभयो । उहाँले नयाँ संरचना अनुसार जिल्ला, प्रदेश र केन्द्र बिचको समन्वय र प्रभावकारी भुमिकाका लागि जिल्ला र धौलागिरी अञ्चलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएकाले सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष जयराम भारी र निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठले २०२२ सालमा स्थापित उद्योग बाणिज्य महासघंको संस्थापक सदस्य बागलुङ उद्योग बाणिज्य सघ भएकाले र यस सघंंका तर्फबाट श्रेष्ठलाई अञ्चलको साझा उम्मेदवारको रुपमा अघि बढाइएकाले सबैलाई सकरात्मक भुमिका निर्वाह गरि बिजयी बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस बागलुङका सभापति दिपेन्द्र थापा, नेपाल पत्रकार महासघं बागलुङका अध्यक्ष दिल शिरीष, महिला उद्यम विकास समितिका अध्यक्ष भगवति केसीले उम्मेदवार श्रेष्ठलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम बागलुङ उद्योग बाणिज्य सघंका महासचिव दयाराम पौडेलको सञ्चालन र वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।









