स्ववियु निर्वाचनको लागि धौलागिरी क्याम्पसको तयारी पुरा

बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचन

बागलुङ, १७ फागुन
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को बुधबार हुने निर्वाचनको धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा सम्पूर्ण तयारी पुरा भएको छ ।
धौलागिरी अञ्चलकै एक मात्र आंगिक क्याम्पस धवलागिरी बहुमुखी क्याम्पसमा बुधबार विहान ८ बजे देखि साँझ ५ बजेसम्म हुने स्ववियु निर्वाचनको लागि आवश्यक सुरक्षा व्यवस्था, मतदान केन्द्र तयार लगायत सम्पूर्ण तयारी पुरा भएको निर्वाचन अधिकृत डा. दिन बहादुर थापाले जानकारी दिए ।
क्याम्पसमा निश्पक्ष, धाँदली र विवाद रहित नमुना निर्वाचन गराउनको लागि क्याम्पसको सवै जनशक्तिको परिचालन गर्ने निर्वाचन अधिकृत थापाले बताए । उनले निर्वाचन स्थल व्यवस्थित गर्नेको लागि क्याम्पसको दुवै गेटमा तथा निर्वाचन स्थान वरीपरी सुरक्षाकर्मीको साथै क्याम्पसको जनशक्तिहरुको परिचालन गर्न लागेको जानकारी दिए ।
प्रत्यक्ष तथा समानुपातिटक तर्फको लागि ३ वटा मतदान केन्द्र रहने निर्वाचन केन्द्रमा एक मतदान केन्द्रमा ७ जना कर्मचारी खटाईने छ ।
प्रत्येक्ष तर्फको ८ पदको लागि धौलागिरी बहुमुखी क्याम्पसमा ५ संगठनका १९ जना उम्मेदवारहरुको उम्मेदवारी परेको छ । क्याम्पसमा विभिन्न संकायका ९ सय ८२ जना विद्यार्थीहरुले मताधिकार प्रयोग गर्नेछन् ।
स्ववियुको अध्यक्षको लागि अखिल संयुक्त प्यानलका शेखर खड्का र नेपाल विद्यार्थी संघका मन बहादुर थापा विच प्रतिस्पर्धा हुँदैछ ।