बिक्रम सुनार
बागलुङ, १५ फागुन
जेसिज बागलुङको आयोजनामा धवलागिरी बहुमुखि क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियनका उमेदवारहरु बिच आइतबार उमेदवार साक्षत्कार कार्यक्रम (ककस) सम्पन्न भएको छ ।
साक्षत्कार कार्यक्रममा अखिलहरुको संयुक्त प्यानलको तर्फबाट स्ववियु अध्यक्षका उमेदवार शेखर खड्का र नेपाल विद्यार्थी संघ (संयुक्त लोकतान्त्रिक प्यानल)को तर्फबाट अध्यक्षका उमेदवार मनबहादुर थापा मनिष दुवैले क्याम्पसमा गुणस्तरीय शिक्षा आफुहरुको पहिलो ऐजेण्डा भएको बताउनुभएको थियो ।
अखिलहरुको संयुक्त प्यानलनका उमेदवार खड्काले धवलागिरी बहुमुखी क्याम्पसलाई देशकै नमुना क्याम्पस बनाउने योजना आफुहरु संग रहेको बताउँदै योजना साकार पार्नको लागि आफु र अखिलका उमेदवारहरुलाई मतदान गरि विजयी गराउन विद्यार्थीहरुलाई आग्रह गर्नु भयो ।
त्यस्तै नेवि संघका उमेदवार थापाले क्याप्पसको भौतिक सुधारका साथै शैक्षिक गुणस्तर र प्रशासनिक सुधारको सपना आफुहरु संग रहेको बताउँदै आफु र नेवि संघका उमेदवारलाई मतदान गर्न विद्यार्थीहरुलाई आग्रह गर्नु भयो ।
थापाले कार्यक्रममा बोल्ने क्रममा अखिलहरुलाई आक्षेप लगाए पछि अखिलहरुले नारावाजी गर्दै कार्यक्रम स्थाल छोडि बाहिरिएका थिए ।
बोल्ने क्रममा उमेदवारले एकअर्कालाई आरोप प्रत्यारोप गर्न नपाईएने बताइए पनि थापाले अखिल छैठौँ र क्रान्तिकारीलाई अनेरास्ववियुको मतियार बनेको आरोप लगाए पछि अखिलहरुले नाराबाजी गर्दै कार्यक्रम हलबाट बाहिरिएका थिए ।
अखिल समर्थित विद्यार्थीहरु बाहिरिए पछि जेशिजले विद्यार्थी र उमेदवारहरु बिच सवालजवाफ नगराई कार्यक्रम छोट्याएको थियो ।
कार्यक्रममा धवलागिरी बहुमुखि क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले क्याम्पसमा भएको विभिन्न भौतिक संरचनाm शैक्षिक लगायतको समस्या साझा भएकाले विद्यार्थीको नेतृत्वले समाधन हुने बताउनुभयो । उपाध्यायले स्ववियु निर्वाचनले देशमा अशल नेतृत्व उत्पादनमा गर्न सघाउ पुग्नेमा जोडदिनुभयो ।
जेशिज बागलुङका अध्यक्ष जोन वज्रचार्यको अध्यक्षतामा, कार्यकारी उपाध्यक्ष एञ्जिल शाक्यको संचालन तथा मनोज विकको स्वागत रहेको कार्यक्रममा सुदिप राजभण्डारीले सहजीकरण गर्नु भएको थियो ।









