बागलुङ, १४ फागुन
धौलागिरि कला तथा साहित्य मंचले रचना बाचन डवलीको दोस्रो शृङ्खला पर्वतको कुश्मामा सम्पन्न गरेको छ ।
धौलागिरि अञ्चलको सवै जिल्लामा गरिने अभियान अन्तगर दोस्रो शृङ्खलाको रचना बाचन कार्यक्रम कुश्मा स्थित नमुना आवसिय उच्च माविमा गरिएको हो ।
कार्यक्रममा धौलागिरिको बागलुङ, पर्वत र म्याग्दीका २ दर्जन स्रष्टाहरुले रचना बाचन गरेका थिए ।
कार्यक्रमको उद्घाटन पछि बोल्दै साहित्यकार इन्द्रकुमार बिकल्पले धौलागिरि कला तथा साहित्य मंचको अभियानले धौलागिरिको साहित्य बिकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले अभियानलाई शहर केन्द्रित भन्दा पनि गाँउगाँउमा संचालन गर्न सकेमा उपलव्धी हुने बताउनुभयो ।
कार्यक्रममा नमुना आवसिय उच्च माविका प्रिन्सीपल एवँ साहित्यकार इन्द्रमान खत्री, पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पाहाडी, धौलागिरि बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख लक्ष्मीप्रसाद शर्मा, पर्वतका स्रष्टा लक्ष्मीराज शर्मा, डिआर शर्मा, यामबहादुर केसी, मंचका प्रमुख सल्लाहकार ताराप्रसाद शर्मा, सल्लाहकार एन पि घायल र म्याग्दीका स्रष्टा बादल शाहि लगाएतले रचना बाचन सहित मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम मञ्चका सदस्य मगर प्रेमको समयोजकत्व उपाध्यक्ष शंकर चोखालको अध्यक्षता महासचिव सन्ध्या रिजालको स्वागत र सह-कोषाध्यक्ष सिर्जना कार्कीको संचालनमा सम्पन्न भएको थियो ।










