एक मात्र सन्तानको दुवै मिर्गौला फेल, परिवारमा बज्रपात

लक्ष्मीप्रसाद सापकोटा
फलेवास (पर्वत), १२ फागुन
दुवै मिर्गाैला फेल भई आर्थिक अभावका कारण उपचार गर्न नसकेका यहाँका एक बालकको परिवारले उपचार खर्चका लागि सहयोग गरिदिन अपिल गरेका छन् ।

पर्वत जिल्लाको तिलाहार–७ रातामाटाका १९ वर्षीय कृष्णबहादुुर लामिछानेको उपचारमा सहयोग गरिदिन परिवारले सबैसँग आाग्रह गरेको हो । स्थानीय नवजागृत माविमा कक्षा १० मा अध्ययनरत छात्र लामिछाने विगत डेढ महिनादेखि मिर्गौला पीडित बनेका हुन् ।

माघ पहिलो साता पेट तथा कोखा दुखेपछि परीक्षण गर्न अस्पताल पुगेका लामिछानेका दुवै मिर्गौला फेल भएको पाइएको थियो । उनलाई तत्काल मिर्गौला प्रत्यारोपण गर्नका लागि चिकित्सकले सुझाव दिएका छन् ।

परिवारका एक मात्र सन्तान कृष्णबहादुरका बाबु मनबहादुर लामिछाने दैनिक मजदुरी गरी परिवारको गुजारा चलाउँदै आएका छन्। जग्गाको नाममा आधा हल बारी र आधा हल खेतबाहेक अन्य आम्दानीको स्रोत नभएको लामिछानेको परिवारमा बज्रपात परेको छ ।

उता आमा कृष्णकुमारी लामिछाने पनि विगत लामो समयदेखि दमको रोगी छिन् । छोरालाई राम्रो शिक्षादीक्षा दिउँला र ठूलो भएपछि प्रशस्त धन कमाएर वृद्ध बाबुआमालाई राम्रोसँग पालनपोषण गर्ला भन्ने आश बोकेर जीवनभर मजदुरी गर्दै आएका पीडित कृष्णबहादुरका बाबु मनबहादुरका आँखा विगत डेढ महिनादेखि ओभाएका छैनन् ।

ढिलोगरी विवाह गरेका उनको परिवारमा ढिलै गरी कृष्णको जन्म भएको थियो । कृष्ण मनबहादुरका एक्ला सन्तान हुन् ।

बूढेसकालमा छोराको कमाई खाने बेलामा उसैको उपचारका लागि हात थाप्दै हिँड्नु परेको बुधबार सदरमुकाम कुश्माबजार आइपुगेका मनबहादुरले रुँदै भने सोच्दै नसोचेको घटना आइलाग्यो अब कसरी उपचार गर्ने हो, उनको दुःखेसो छ ।

गण्डकी अस्पताल पोखरामा डायलाइसिस गराएपछि उनी अहिले छोराको मिर्गौला परिवर्तनका लागि सहयोगको अपिल गर्दै भौतारिइरहेका छन् । अहिले गाउँलेको सहयोगमा उपचार गर्दै आएको उनी बताउछन् । चिकित्सकले मिर्गौैलाबाहेक १२ लाख रुपैयाँ खर्च लाग्ने भनेपछि उनी सहयोगको अपिल गर्दै विभिन्न सङ्घसंस्था र सञ्चार माध्यम गुहार्दै हिँडिरहेको बताए।
उमेरले ६० पुगेका मनबहादुर पाएसम्म आफन्तबाट मिर्गौला प्रत्यारोपण गर्ने र नपाएमा छोराको जीवन रक्षार्थ आफ्नै मिर्गौला दिने सोचमा समेत पुगेका छन्। म बरु छिट्टै मरे पनि पछुतो छैन मेरो मिर्गाैलाले काम ग¥यो भने छोराले त नयाँ जीवन पाउला उनले भने। मजदुरी गरेर बिहान–बेलुकाको छाक टार्दै आएका उनले आवश्यक सहयोग गरिदिन सरकारी तथा गैरसरकारी निकाय र सङ्घसंस्थासँग मागसमेत गरेका छन्।

कृष्णको एलएलसी परीक्षासमेत नजिकिँदै गएको छ । परीक्षाको बेलामा उनी घरमै आराम गरेर बसेका छन् । घर र विद्यालयको दूरी टाढा रहेकाले पढाइ नै बिगारेर बस्नुपर्ने बाध्यता रहेको छ ।

नवजागृत माविका शिक्षक हरिबहादुर लामिछानेले मिर्गौैला पीडित कृष्ण जेहेन्दार र एसएलसी परीक्षा सहजै राम्रो अङ्क ल्याएर पास गर्न सक्ने विद्यार्थी भएको बताउनुभयो । उहाँले कृष्णको उपचारका लागि विद्यालयले समेत अभियान चलाएको र हालसम्म रु एक लाख २० हजार सहयोग सङ्कलन भएको जानकारी दिए। रासस