बागलुङ, ७ फागुन
परम्परागत रुपमा दर्जी समुदायले बजाउँदै आएको नौमती बाजा लोप हुँदै जान थालेको भन्दै जिल्लाको निसी गाविस भल्कोटका मगर युवाहरुले त्यसको संरक्षणमा जुटेका छन् ।
दर्जी समुदायमा अहिले नौमति बाजा बजाउन युवाले चासो नदेखाएपछि मगर युवाहरुले यसको संरक्षणमा ध्यान दिन थालेको संरक्षण समुहका अध्यक्ष विरबल घर्ति मगरले बताए । निसी गाविस भल्कोट–९ का मगर युवाहरुको सहभागितामा भल्कोट मगर बाजा समुह गठन गरी पञ्चेबाजालाई व्यवसायिक रुपमा समेत प्रयोगमा ल्याएको अध्यक्ष घर्तिले बताए ।
गाउँघरमा हुने विवाह, ब्रतबन्धदेखि लिएर अन्य कार्यक्रममा समेत पञ्चेबाजाको माग हुने गरेको भएपनि दर्जी समुदायले यो पेशालाई व्यवसायिक रुपमा अघि बढाउन नसक्दा आफुहरु यसतर्फ लागेको भल्कोट मगर बाजा समुहका संरक्षक घर्तीको भनाई छ । गत मंसीर महिनादेखि भल्कोट बाजा समुह गठन गरि बाजा बजाउन सुरु गरेपछि स्थानियलाई कामकाजमा सहज भएको उनको भनाई छ ।
पहिले दलितले मात्र बजाउने संस्कारका रुपमा विकसित भएको पञ्चेबाजा अहिले सबैले बजाएर केही नहुने भन्ने स्थानियमा विकास भएपछि आफूहरुले बजाउँदा राम्रो मानिएको समितिका अर्का सदस्य विष्णु घर्तिको भनाई छ । मगर समुदायका युवाहरुको पहलमा गाउँमा लोप हुन थालेको पञ्चेबाजा संरक्षण हुन थालेपछि उनीहरुको माग अनुसारको रकम कसैले हिचकिचावट नगर्ने स्थानिय युवा बुद्ध बुढा मगरले बताए ।
मगर युवाहरुले पञ्चेबाजा बजाउन थालेपछि गाउँघरमा बिवाह, ब्रतबन्ध गर्न सजिलो भएको मगरको भनाई छ । सुरु–सुरुमा निशुल्क रुपमा बजाउने गरेका उनीहरुले अहिले भने स्थानियले रकम दिने गरेको बताउँछन । समितिले कति पैसा लिने कसैलाई नमाग्ने तर स्थानीयले कार्यक्रम हेरेर आफै १५ देखि २० हजारसम्म दिने गरेको संरक्षक घर्तिले बताए । हालसम्म उनीहरुले करिब १ लाखभन्दा बढि संकलन गरिसकेको बताएका छन् ।









