बागलुङ, २६ माघ
बिभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका गाविस सचिवहरुले आजदेखी काम थालेका छन् ।
माग सम्वोधन गर्ने गरि सम्झौता भए पछि चरणवद्ध आन्दोलनका सबै बिरोध तथा धर्ना कार्यक्रम स्थगित गरेर सेवा शुरु गरिएको गाविस सचिव हकहित केन्द्र जिल्ला कार्य समिती बागलुङले जनाएको छ ।
९ सुत्रिय माग राखेर पाँचौ दिनसम्म जिविसमा धर्ना एवं विरोध जनाएका गाविस सचिवहरुले आफ्ना मागका विषयमा स्थानीय विकास मन्त्रालय सकारात्मक भएको र मागको कार्यान्वयन गर्न प्रतिवद्धता व्यक्त गरेकाले आन्दोलनका कार्यक्रम स्थगित गरि काम थालिएको गाविस सचिव हकहित केन्द्र जिल्ला कार्यसमितिका अध्यक्ष महेन्द्र पौडेलले बताउनुभयो ।
गाविस सचिवलाइ नेपाल सरकारबाट गत बर्ष स्वीकृत भएको कार्य सम्पादनमा आधारीत प्रोत्साहन भत्ता चालु आर्थिक बर्षमा अर्थमन्त्रालयबाट सहमती नदिइ रोक्का गरेको,विभिन्न समयमा भएका सम्झौता एवं ज्ञापन पत्रको कुनै सुनुवाइ नभएको, निजामती कर्मचारीलाई कानुन निर्माण गरी संघीय, प्रदेश र स्थानीय तहमा समायोजन गर्नुपर्ने,सरकारी सेवालाइ संघीय सेवा र प्रदेश सेवा मात्र हुनुपर्ने,प्रदेश सेवामा खटाउँदा एक श्रेणी बढुवा गरिनुपर्ने, शैक्षिक योग्यताका कारण बढुवा दिन नमिल्ने कर्मचारीलाई गोल्डेन हेन्सेक बापत तहबृद्धि सहितको अवकाश योजना हुनुपर्ने, सेवा सुविधामा घटबढ हुन नपाइने लगायतका माग राख्दै आएका थिए ।









