काठमाडौं, १० माघ
नेपाल दुई महिनापछि हुने एएफसी एसियन कप छनोटका लागि कठिन समूहमा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले संयुक्त अरब इमिरेट्समा गरेको समूह विभाजनमा नेपाल समूह एफमा फिलिपिन्स, ताजकिस्तान र यमनसँग परेको छ ।
सन् २०१८ को विश्वकप र एसियन कपको छनोटको सुरुआतमा पराजित भएपछि दुई महिना अघि एएफसी सोलिडारिटी कप जितेको र ग्वामले खेल्न नपाउने भएपछि नेपालले पुनः एसियन कप छनोट खेल्ने मौका पाएको थियो । नेपाल जस्तै सोलिडारिटी कपको फाइनल पुगेको मकाउनले पनि कुवेतको सट्टा छनोट खेल्ने अवसर पाएको छ ।
एसियन कप छनोट चैत १० गतेबाट सुरु हुनेछ । सोमबारको समूह विभाजनमा समूह एमा मकाउ, म्यानमार, भारत र किर्गिस्तान समूह बीमा मलेसिया, लेबनान, हङकङ र उत्तर कोरियाका छन् ।
त्यस्तै कम्बोडिया, अफगानिस्तान, भियतनाम र जोर्डन समूह सीमा छन् भने प्यालेस्टाइन, माल्दिभ्स, भुटान र ओमान समूह डीमा छन् । त्यस्तै समूह इमा बहराइन, तुर्किमिनिस्तान , चाइनिज ताइपे र सिंगापुर छन् । एसियन कप छनोट खेल्ने २४ टोलीलाई फिफा वरियताको आधारमा चार पटमा विभाजन गरिएको थियो । प्रत्येक पटमा ६ राष्ट्र रहेका थिए । २४ टोलीलाई ६ समूहमा विभाजन गरिने छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई बर्षपछि हुने एसियन कपमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।









