काठमाण्डौ–जोमसोम सडकमा रातीबस सेवा सञ्चालन

म्याग्दी, ९ माघ
हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकखण्डमा रहेको सिन्डिकेट हटेपछि जोमसोम– काठमाण्डौ रातीबस सेवा सञ्चालनमा आएको छ ।
धौलागिरि यातायात ब्यवसायी समितिले विश्वकै उत्कृष्ट गन्तब्यका रुपमा रहेको मुस्ताङमा घुम्न जाने स्वदेश तथा विदेशी पर्यटकलाई सहज बनाउन सिधा यातायात सेवा सञ्चालन गरेको यातायात ब्यवसायीले बताएका छन् ।

धौलागिरि बस ब्यवसायी समितिले जोमसोम देखी काठमाण्डौसम्म १ हजार ६ सय रुपैयाँ, पोखरा १ हजार, बागलुङ ८ सय ५० र म्याग्दीको सदरमुकाम बेनीसम्म ८ सय रुपैयाँ भाडा तोकिएको छ । मुस्ताङको मार्फा गाविसस्थित एरपोर्ट नजिक रहेको काउण्टरबाट काठमाण्डौका लागि दिउँसो १२ बजे र मुस्ताङका लागि काठमाण्डौबाट ३ बजे बस छुट्ने छ।

एक दशक सम्म म्याग्दी र मुस्ताङका ब्यवसायीले लगाएको सिन्डिकेटका कारण सास्तीमा परेका यात्रुलाई पोखराको जिरो किलोमिटरबाट समेत स्तरीय मिनि बस सेवा सञ्चालन भइरहेको छ । मुस्ताङसम्म डिलक्स बसमा यात्रा गर्ने अवसर पाएका यात्रुले सडकस्तरउन्नतीमा समेत चासो देखाएका छन् । सिधा सडक सञ्चालनमा आएपछि उत्तरी म्याग्दीका विभिन्न गाविसका साथै मुस्ताङ जाने सर्वसाधारण, पर्यटक, कर्मचारी, धार्मिक तिर्थयात्रुहरूलाई राहत मिलेको छ ।