कविता“ऊ´´

रमेश रसिक

फाटेको बा को टोपी
उध्रिएको आमाको चोली
च्यातिएका दिदिका कयौ सपनाहरू
लुटिएका बहिनीका कयौं रहरहरू
र
लुछिएका भाइका मनका आस्थाहरू
पूरा गर्ने सोचमा
ऊ
मनभरी आँसु लुकाउदै परदेश हिँडेको छ।

नसोध्नुस् उसलाई
कुनै पनि प्रश्न
देशको बारेमा
जो बिल्कुल लाटो बनिसकेको छ
बोल्दा बोल्दै आफ्नो मुलुकको परिस्थीतिसंग।

खोज्नु छ उसले
खुसीको बिऊ बालुवाको देशमा
र रोप्नु छ
आमा र बा को जिन्दगीमा
सधैं सधैंका लागी।
निकाल्नुछ पसिना
खुसीको सिंचनको लागी
बगाउनु छ रगत
खुसीको सिंचनको लागी।
रोक्दै नरोक्नुस् उसलाई
ऊ
खुसीको बिऊ खोज्न
परदेश हिँडेको छ
बाको टोपी र आमाको चोली
बन्धकीमा राखेर।

निजगढ