बागलुङ, ७ माघ – दलित युवा सञ्जाल बागलुङको आयोजनामा संचालित बागलुङ गोल्डकपको उपाधि विष्णु पादुका युवा क्लब हेम्जा कास्कीले जितको छ ।
शुक्रबार बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा भएको फाइनल खेलमा विष्णु पादुका युवा क्लबले फ्युचर ब्राइटर स्पोर्ट क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।
निकै प्रतिस्पर्धात्मक एवं विवादात्मक भएको खेलमा पहिलो हाफको २० मिनेटमा फ्युचरका स्टाईकर रितेश मल्लले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । नेपालका राष्ट्रिय खेलाडी समेत रहेका हेमन गुरुङले प्रहार गरेको फ्रिकिक बल हेम्जाका किपरले पञ्च गरेर हर्फीएको बललाई मल्लले सुन्दर गोलमा परिणत गरेका हुन् ।
गोलखाएपछि निकै आक्रमक खेल खेलेको विष्णु पादुका युवा क्लबले गोलखाएको ५ मिनेटमा गोल गरेको थियो । कर्नरबाट आएको बललाई फ्युचरका डिफेन्डरले डिबक्स बाहिर प्रहार गर्नखोज्दा विष्णु पादुकाका स्टाईकर विश्व गुरुङले गोल गरेका थिए । गुरुङ गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । विष्णु पादुकाले पहिलो गोल गरेको ५ मिनेटमा दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उक्त गोल खेलको ३० मिनेटमा राकेश गुरुङले गरेका थिए ।
दोस्रो गोल गरेपछि रेफ्रीको निर्णय गल्ती भयो भन्दै फ्युचरका खेलाडीले विरोध गरेका थिए । गोल गर्नुपहिले खेलाडीले हेण्ड गरेको र लाइन्स मेनले झण्डा उठाउँदा मुख्य रेफ्री सौरभ गुरुङले झण्डा झार्न लगाएकोभन्दै फ्युचरका खेलाडीले आरोप लगाएका थिए ।
विरोधका बाबजुध खेल संचालन भएपछि फ्युचरका खेलाडी र विष्णु पादुकाका खेलाडी बलको लागि संघर्ष गर्दैगर्द एकआपसमा झगडा गरेपछि फ्युचरका स्टाईकर प्रमल थापालाई रेड कार्ड दिइएको थियो । उक्त निर्णय चित्त बुझ्दो नभएको भन्दै फ्युचरले आयोजक प्रति ध्यानकर्षण पत्र लेखेर बुझाएको थियो । उक्त झगडामा दुवै खेलाडी दोषिभएकोले दुवैलाई कारवाही गरिनुपर्ने फ्युचरको अनुरोध थियो । 
पहिलो हाफमा १० खेलाडीमा सिमित भएको फ्युचरले दोस्रो हाफको सुरुवातबाटै विष्णु पादुकालाई दबाबमा राखेपनि गोल गर्नभने सकेन् । दोस्रो हाफमा पाएको फ्रिकिकमा हेमन गुरुङले प्रहार गरेको बल गोलबारमा लागेर फर्केको थियो । दोस्रो हाफमा फ्युचरका खेलाडीलाई फल गरेपछि विष्णु पादुका युवा क्लबका विनोद गुरुङले दोहोरो पहिलो कार्ड पछि रातो कार्ड प्राप्त गर्दै मैदान बाहिरीएका थिए । दुवै टोली १० खेलाडीमा सिमित रहेको अबस्थामा विष्णु पादुका कप्तान प्रविन थापा पनि दोहोरो पहिलो कार्डपछि रातो कार्ड खाँदै बाहिरीएपछि हेम्जा ९ खेलाडीमा झरेको थियो । विष्णु पादुकाका कप्तान थापाले दोहोरो पहेलो कार्ड खाँदा पनि मुख्य रेफ्री सौरभ गुरुङले थाहा पाएका थिएनन् पछि फोर्थ अम्पाएरले मुख्य रेफ्री गुरुङलाई भनेपछि मात्र कप्तान थापालाई रेडकार्ड दिइएको थियो । खेलको ९० मिनेटमा विष्णु पादुकाका खेलाडी समिर कार्कीले गोल गर्दै टिमलाई जित दिलाएका थिए ।
उक्त प्रतियोगितामा फ्युचरका डिफेन्डर आशिष गुरुङ उत्कृष्ट डिफेन्टर, स्टाइकर सवि गुरुङ उत्कृष्ट खेलाडी, विष्णु पादुकाका गोलकिपर आकाश रानाभाट उत्कृष्ट गोलकिपर, फ्युचरका मिडफिल्डर हेमन गुरुङ उत्कृष्ट मिडफिल्डर, विष्णु पादुकाका स्टाईकर विश्व गुरुङ उच्च गोलकर्ता, स्टाईकर राकेश गुरुङ उत्कृष्ट स्टाईकर, उत्कृष्ट प्रशिक्षक जगत थापा र अनुशासित टिम खनियाँघाट युवा क्लब घोषित भएका छन् ।
प्रतियोगिताको विजेत विष्णुपादुका युवा क्लबले नगद १ लाख सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छभने उपविजेता फ्युचरले नगद ५५ हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।









