
बागलुङ, १६ पौष – अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन, नेपाल) बागलुङ शाखाले बागलुङ नगरपालिका–१० कुँडुलेस्थित पुर्नस्थापना केन्द्रमा श्रीमद् भागवत गीता यथारुप ग्रन्थ वितरण गरेको छ । गीता जयन्तीको अवसर पारेर केन्द्रमा भर्ना भएका ५५ जना र कर्मचारीलाई समेत गरि ८० थान भागवत् गीता प्रदान गरिएको शाखाले जनाएको । छ । केन्द्रमा संयोजक र शाखाको आयोजनामा गीता वितरण कार्यक्रम सम्पन्न भएको शाखाका अध्यक्ष एवम् (इस्कोन, नेपाल) का युवा प्रचारक श्री परमेश्वर अच्युत दासले बताए । सो अवसरमा दासले गीताको महत्वबारे प्रकाश पारेका थिए । उनले गीताको अध्ययनबाट सम्पूर्ण मानव समाजलाई सहि दिशामा अगाढि बढाउन सकिने बताए । ‘गीता कुनै धर्म विशेषको मात्र ग्रन्थ होइन, यो एउटा वैज्ञानिक पुस्तक हो’ दासले भने ‘गीतामा रहेको सबै ७ सय श्लोका पूर्ण रुपमा व्यवहारिक छन् ।’ उनले विभिन्न कारणले पुर्नस्थापना केन्द्रमा पुगेका व्यक्तिहरुमा सकारात्मक सोँच र उर्जाको विकास गराउन गीता वितरण गरिएको उल्लेख गरे । कार्यक्रममा सहभागीले गीता जस्तो पवित्र र महत्वपूर्ण ग्रन्थ प्राप्त गर्दा खुसी लागेको प्रतिक्रिया दिएका थिए । उनीहरुले गीताको मर्म र सारलाई आत्मसाथ गरि जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रतिवद्धता समेत जनाएका थिए । आगामी दिनमा पनि यस किसिमका रचनात्मक र प्रेरणादायी कार्यक्रम पुर्नस्थापना केन्द्रमा ल्याउन समेत माग गरेका थिए । केन्द्रका व्यवस्थापक सचिन खड्काले (इस्कोन) समाजमा सह्रानीय कार्य गरेको बताए । केन्द्रमा गीता वितरण गरेकोमा उनले इस्कोन शाखालाई धन्यवाद ज्ञापन गरेका थिए । यसअघि, शाखाले बागलुङ कारागारका बन्दीहरुलाई समेत भागवद् गीता वितरण गरेको थियो । श्रीम्द भाववत् गीतालाई हिन्दु मात्र नभएर अन्य समुदायले पनि पवित्र ग्रन्थको रुपमा लिने गरेका छन् ।









