बागलुङ, १० पुस
नेकपा एमाले बागलुङको शनिवारदेखी बागलुङ सदरमुकाममा शुरु भएको आठौ जिल्ला अधिवेशनको दोस्रो दिन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तर प्रशिक्षण पछि अपरान्हदेखी शुरु हुने भनिएको बन्द सत्र अझै सूचारु भएको छैन ।
कालिगण्डकी चलचित्र मन्दिरको सभाहलमा हुने बन्द सत्रको कार्यक्रमका बिषयमा जिल्ला सचिवालय बैठकमा छलफल भइरहेको र उक्त वैठक पछि बन्द सत्र शुरु गरिने एमाले अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिनुभयो ।
पार्टीको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदनमा छलफल भएर पारित भए पछि निर्वाचनको कार्यक्रम शुरु हुने केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले जानकारी दिनुभयो ।
भोली सम्म चल्ने अधिवेशनमा नयाँ नेतृत्वका लागि बर्तमान एमाले उपाध्यक्ष तथा सांसद नरबहादुर थापा, प्रदेश कमिटी सदस्य इन्द्रलाल सापकोटा र केन्द्रिय उर्जा बिभागका सदस्य हिराबहादुर केसी चुनावी मैदानमा देखिएका छन् ।
उपाध्यक्षमा विष्णु भुषाल, ध्रुवबहादुर केसी, कृष्ण पाठक, टकं पौडेल, सचिवमा डिल्लीराज गौतम, लालबहादुर थापा, रामबहादुर जिसी, उपसचिवमा धनबहादुर परियार, सावित्री राना, नेत्रबहादुर विष्ट, अञ्जु जि.सी लगायतले दावी गर्नुभएको छ । नेतृत्वका लागि दावी गर्नेहरुको संख्या धेरै भए पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयत्न गरिने जिल्ला इन्चार्ज मना केसीले जानकारी दिनुभयो ।
अधिवेशनमा जिल्लाभरबाट ५ सय ९२ जना प्रतिनिधि सहभागी छन् । एमाले जिल्ला अधिवेशनले ५९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । अध्यक्ष सहित चार पदाधिकारी, ९ खुल्ला, महिला तर्फ खुल्ला ७, ४ जनजाति र २ दलित गरी १९ महिला सदस्य, १३ इलाकाबाट १३ सदस्य, निसी, बोबाङ, बोहरागाउँ लगायतको दुई वटा बिशेष क्षेत्रबाट २ जना, ४ दलित, ६ जनजाति, १ अल्पसंख्यक र १ मजदुर जिल्ला सदस्य चयन गर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघिको गलकोट, बलेवा र नगरपालिका क्षेत्रको सदस्य हुने व्यवस्था भने हटाइएको छ । एमाले निर्वाचन कमिटीबाट मात्र हटाइएको छ ।









